बढी मादक पदार्थ सेवन गरि सवारी चलाउने ४२३ चालकको अनुमतिपत्र खारेज
काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।
महाशाखाले पटक-पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो ।
महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।
पहिलोपटक १ लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक ८ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक १ हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो ।
“खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,” उनले भने, “दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।”
आर्थिक वर्ष २०७०/७१ मा ५२, आव २०७१/७२ मा १२२, २०७२/७३ मा १३३, २०७३/७४ मा ४१, २०७४/७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो ।