विश्व च्याम्पियन महर्जनलाई प्रचण्डको बधाई, ‘तपाई देशको गौरव’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन् । प्रचण्डको निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा भएका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
उक्त अवसरमा प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उचो पार्न सहयोग गरेकोमा बधाई दिए । ‘तपाईले उत्कृष्ट कौशल देखाउनु भयो, यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ,’ उनले भने, ‘विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतिले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ ।’
आफूले खेल क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको जनाउँदै अध्यक्षले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने बताए । राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै प्रचण्डले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने बताए ।
खेलाडी महर्जनले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताए । प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने बताएका छन्।