आफ्नै निर्वाचन क्षेत्र जनकपुरमा जलाइयो राजेन्द्र महतोको पुत्ला
जनकपुरधाम : प्रदेश नम्बर २ स्थित आफू निर्वाचित भएकै क्षेत्र जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुत्ला जलाइएको छ ।
संयोजक महतोले राजपा नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुलाई उक्त ठाउँमा मनोनित गरेको विरोधमा शुक्रबार साँझ जनकपुरको जनकचोकमा संयोजक महतोको पुत्ला दहन गरिएको हो ।
धनुषा निर्वाचन क्षेत्र नं.३ बाट महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता हुन् । अध्यक्ष मण्डलको सदस्यबाट हटाइएका देवकृष्ण मण्डलको नेतृत्व र रजपाका प्रदेश सांसद एवं प्रदेश नं. २ का सचेतक प्रमेश्वर साहको विशेष उपस्थितिमा महतोको पुत्ला दहन गरिएको छ ।
महतोले पार्टीमा सक्रिय भूमिका निर्वाह गर्ने देवकृष्ण मण्डललाई अध्यक्ष मण्डलका सदस्यबाट हटाएर अर्कालाई मनपरी ढंगले मनोनित गरी पार्टी हित विपरीत काम गरेको उनीहरुको आरोप छ ।
उनीहरुले सदस्य मण्डललाई हटाएको निर्णय अभिलम्ब फिर्ता लिन माग समेत गरेको छ । पुत्ला दहन कार्यक्रममा अध्यक्ष मण्डलका जिल्ला संयोजक सतिशलाल दास, राजपा जिल्ला नेता रामविनोद चौधरी पप्पु, धिरेन्द्र सिंह लगायतका सहभागी रहेका थिए ।