Logo
७ माघ २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केहि दिनमै संविधान संशोधन हुन्छ, सरकार स्थिर छ, कसैले हल्लाएर हल्लिँदैन् : उपेन्द्र यादव

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताए । उनले भने,‘यो संविधानले देश चल्दैन् । जति चाँडो संविधान संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे । उनले भने,‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नगरेसम्म मुलुकले बाटो नपाउने ठोकुवा गरे । उनले भने,‘संशोधन गराउनको लागि हाम्रो प्रयत्न भैरहेको छ । संविधान संशोधन नभएसम्म मुलुकले स्थिरता पनि पाउँदैन् । अहिले मुलुक अलमलिएको छ ।

मुलुकलाई यो अलमलपनाबाट बाहिर निकालेर अब अगाडि बढाउनुपर्छ। यसको लागि चाँडोभन्दा चाँडो संशोधन संशोधनको विद्येयक अगाडि बढाउनुपर्छ ।’ मन्त्री यादवले संसदको यही चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विद्येयक दर्ता हुने र पारित पनि हुने विश्वास दिलाए ।

उनले भने,‘यदि संशोधन प्रस्ताव दर्ता भएन भने जनतामा सरकारप्रति अविश्वास हुन्छ । जनताको विश्वास गुमेपछि राजनीति काम लाग्दैन् ।’ सरकारको दश महिनाको उपलब्धि के हो त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘सरकारको उपलब्धि भनेको निरन्तर सरकार चलिरहेको छ । हामीले यो सरकार दुई तिहाई हो भनेर भन्न पाएका छौं ।

सरकार स्थिर छ । कसैले हल्लाएर हल्लिँदैन् । संसदमा विपक्षी छैन । सत्तापक्षका नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन् । सरकारलाई हाईसञ्चो छ ।’ मन्त्री यादवले सरकारले यो दश महिनाको अवधिमा मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको, जंगबहादुर राणाले बनाएको १८५४ को मुलुकी ऐन प्रतिस्थापन गरेको, केही समयलाई भएपनि राजनीतिक स्थिरता भएको र प्रयास गर्दा अब विकासको लागि आधार तयार भएकोलगायत यो सरकारले गरेका राम्रा कामको फेहरिस्त सुनाए ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्