खड्कबहादुरलाई स्वदेश फर्काउन देश विदेशबाट सहयोगी हातहरू जुट्दै
तेह्रथुम : विगत चार वर्षदेखि दुबईको जेलमा रहेका फेदाप गाउँपालिका-२, ओयाक्जुङ्गका खड्कबहादुर जोगीलाई स्वदेश फर्काउन यतिबेला देश विदेशबाट सहयोगी हातहरू जुटिरहेका छन् । जोगीलाई नेपाल फर्काउन आवश्यक व्लड मनी ६० लाखमध्ये हालसम्म ५५ लाख बढी रकम संकलन भएको जोगी बचाऊ अभियान समिति, तेह्रथुमले जनाएको छ ।
घरमा बुढी आमा, श्रीमती र छोराछोरी छन् । काम गर्ने जवान छोरो ४ वर्षदेखि विदेशको जेलमा रहेको भन्दै घर फर्काइदिन पीडितकी ८० वर्षीय आमा ईन्द्रमाया जोगीले अनुरोध गरिरहेकै छिन् ।
मानवीय धर्म सम्झिएर सबैलाई सहयोग गर्न अनुरोध गरेको र सबैले आफ्नो पीडा बुझी सहयोग गरेको पीडितकी श्रीमती डम्माकुमारी जोगीले बताइन् । जोगीलाई स्वदेश फर्काउन सहयोगी हातहरु जुटिरहेको बेला जोगी परिवार भने यतिबेला केही आशावादी देखिएको छ ।
विगत ५ वर्षअघि आफ्नो परिवारको सुन्दर भविष्यको कल्पना गर्दै २०७० सालमा परदेशिएका जोगी दुबईको अलगर्फ डेभलपमेन्ट प्रोजेक्ट कम्पनीमा कार्यरत थिए ।
उनी सवार गाडीबाट सोही कम्पनीमा कार्यरत सहकर्मी फिलिपिनो नागरिक खसेको र कम्पनीको निर्देशनमा निजलाई उठाई हस्पिटल पुर्याउँदा मृत्यु भएकोमा मानव हत्याको झुट्टो अभियोग लागि अदालतले पाँच वर्ष कारागार सजाय र दुई लाख दिराम जरिवाना तोकेको थियो ।
अदालतले पाँच वर्ष कारागार सजाय र ६० लाख नेपाली रुपैँया ब्लड मनी तोकेको र उक्त रकम बुझाउन तोकिएको समय मार्च २३, २०१९ अर्थात् विक्रम संम्वत् २०७५ चैत्र ९ गतेभित्र जम्मा गर्नु पर्नेछ ।
सो समयावधिमा उक्त रकम बुझाउन नसक्दा उनलाई फाँसीको सजाय हुन सक्ने भन्दै बचाइदिन परिवारजनले अनुरोध गरेपछि सहयोगी हातहरुबाट यतिको रकम जुटेको हो ।
खड्गबहादुर जोगी बचाऊ समितिको नाममा रहेको नेपाल बैंक लिमिटेड तेह्रथुमको खातामा ५४ लाख र पीडितकी श्रीमती डम्माकुमारी जोगीको नाममा रहेको एनआइसी एसिया बैंकमा १ लाख जम्मा भएको साथै देश विदेशमा संकलन भएको रकम आउने क्रममा रहेकोले जोगीलाई नेपाल फर्काउन आवश्यक रकम जम्मा हुनेमा विस्वस्त रहेको खड्गबहादुर जोगी बचाऊ अभियानका अध्यक्ष डिल्ली गिरीले बताए।