Logo
७ माघ २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमिसनको खेल सुरु : मेलम्चीका कर्मचारी काम छोडेर भागेको कांग्रेस सांसदको आरोप

काठमाडौँ : प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप लगाएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गैर कानुनी ढंगले कम्पनी संचालन गर्न आएका प्रति धरपकड गरेकाले उनीहरु काम छोडेर भागेको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सरोकारित मन्त्रालयका अधिकारीबाट कमिसनको खेल सुरु भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको दाबी गरे । विकास र सम्वृद्धिको नारा लगाएको सरकारका अधिकारीबाट नै ठूलो कमिसनको खेलमा लागेको भन्दै उनले सरकारलाई इमान्दारीता र पारदर्शीता देखाउन चुनौति दिए ।

मेलम्ची आयोजना निर्माणको ठेक्का लिएको कम्पनी भाग्नु र नयाँ कम्पनी खडा गरी तत्काल निर्माणको जिम्मा लगाउने तयारी पनि भइरहेको भन्दै उनले त्यस बारेको यथार्थ जानकारी सदनलाई गराउन माग गरे । उनले कालोसुचीमा परेको कम्पनीलाई बुढी गण्डकी जलविद्युत् आयोजनाको निर्माणको जिम्मा दिने काम भएको भन्दै बुढी गण्डकी जलविद्युत् आयोजना निर्माणको ठेक्का सम्झौता रद्द गरि स्वदेशी लगानीमा निर्माण गर्ने गरि काम अघि बढाउन माग गरे ।

सत्तारुढ दलकै सांसदले पनि मेचलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको कम्पनीले काम छोडेर भागेको बारे सदनलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् । दिल कुमारी रावलले मेलम्ची खानेपानी आयोजनाको निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सिएमसिले एकातर्फी काम छोडेर हिडेको भन्ने बारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको भन्ने बारेमा शिक्षा मन्त्रीले सदनमा उपस्थित भएर सत्य तथ्य जानकारी गराउन माग गरे ।

आयोजना निर्माणको समय लम्बिदै गइरहेका बेला एकाएक निर्माण कम्पनीले काम छोडेको खबरले सबैलाई दुखी र निराश बनाएको भन्दै उनले मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रकरण तोडिएको र पुन कायम गर्ने बारे संचार माध्यममा आएको खबरमाथिको सत्य तथ्य सदनलाई जानकारी गराउन सम्बन्धी मन्त्रीको गम्भीर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्