पूर्व सभापति अधिकारीको ७८ वर्षमा निधन
वालिङ : जिल्ला विकास समिति स्याङ्जाका पहिलो सभापति शिवकुमार अधिकारीको निधन भएको छ । २०४९ सालमा स्याङ्जा जिल्लाको पहिलो जिविस सभापति भएका अधिकारी ब्रेन ट्युमरबाट ग्रसित थिए ।
प्रजातन्त्र सेनानी अधिकारीको मङ्गलबार काठमाडौँमा ७८ वर्षको उमेरमा निधन भएको हो । २०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहेका अधिकारी पटकपटक पक्राउ परी जेल जीवन बिताएका थिए ।
नेता अधिकारी नेपाली काङ्ग्रेसको महासमिति, महाधिवेशन प्रतिनिधि तथा काङ्ग्रेस स्याङ्जाको सचिव भएर राजनीतिमा सक्रिय थिए । स्व अधिकारीको आज स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रामनदीधामस्थित राम्दीमा अन्त्येष्टि गरिँदै छ ।