जनप्रतिनिधिको तलब सामाजिक काममा लगानी
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन् ।राज्यले जनप्रतिनिधिको तलबको रूपमा उपलब्ध गराएको रकम गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिका-६ घारस्थित मुक्तिमार्ग माविले ६०औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको समारोहमा अध्यक्ष पुनले हालसम्म तलबभत्तावापत प्राप्त भएको रु ७ लाख ३५ हजार कोषमा जम्मा गरेको जानकारी दिए । कोषबाट गत वर्ष पाउद्धार माविबाट एसइई उत्तीर्ण गरेका पाउद्धारका काजल रोकालाई इञ्जिनीयरिङ विषयको अध्ययनका लागि रु १ लाख पचास हजार सहयोग गरिसकेका छन् ।
परिवारको आर्थिक अवस्था कमजोरका कारण राम्रो जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका रोका आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न क्याम्पस भर्ना हुन नसकेर समस्यामा परेका थिए । यसैगरी कालीगण्डकी नदीमा आएको बाढीले बगाएको अन्नपूर्ण-४ कोप्चेपानीको धौलागिरि आधारभूत विद्यालयको भवन पुनःनिर्माण र ज्ञानप्रकाश माविलाई रु ५०/५० हजार सहयोग गरेका छन् ।
गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने एक÷एक जना छात्रछात्रालाई रु ५०/५० हजार पुरस्कार उपलब्ध गराउने अध्यक्ष पुनले बताए । विकट र दुर्गम क्षेत्रका विपन्न बालबालिकाको उच्च शिक्षामा पहुँच बढाउन गरीब, विपन्न र अनाथ बालबालिकालाई सघाएको अध्यक्ष पुनको भनाइ छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक रु ३० हजार तलब तोकेको छ ।
तलबका अतिरिक्त विभिन्न बैठक, कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको भत्तालाई पनि उनले कोषमा जम्मा गरिएका थिए । पारिवारिक समस्याका कारण पढ्ने उमेरमा कक्षा ८ उत्तीर्ण भएपछि भारतीय गोर्खा सैनिकमा भर्ती हुन जानुपरेको आफ्नो जस्तो बाध्यता अरुलाई नपरोस् भनेर तलबलाई शिक्षामा परिचालन गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताए ।