Logo
३ मंसिर २०८१, सोमबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विगतमा सधैं प्रसंशा गर्ने योगगुरु रामदेव प्रधानमन्त्री मोदीको साथ छोड्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट भनिएका योगगुरु रामदेव सो पार्टीसँग टाढिन खोजेको पाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपालाई विगतमा ठूलो साथ दिँदै आएका रामदेवले अहिले भने आफूलाई तटस्थ भएको बताउन थालेका छन् । पछिल्लो विधानसभा निर्वाचनमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले हार व्यहोर्नुपरेपछि उनी टाढिन लागिएको भारतीय संचारमाध्यमहरुमा खबर छ ।

उनले आगामी संसदीय चुनावका क्रममा पनि भाजपाको प्रचार नगर्ने संकेत दिएका छन् । उनले भारतीय प्रधानमन्त्री मोदीको विरुद्धमा अहिले नै केही बताइसकेका छैनन् । तर, मंगलबार मोदी तर्फपनि अप्रत्यक्ष संकेत गर्दै रामदेवले भनेका छन्,‘‘कुनै पनि व्यक्तिको हामी समर्थन गर्दैनौं ।”

उनले विगतमा प्रधानमन्त्री मोदीको सधैं प्रसंशा गर्ने गरेका थिए । तर, मंगलबार भने उनले भने,‘‘मलाई थाहा छैन अबको प्रधानमन्त्री को हुन्छ ।’’ उनले मदुरै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए,‘‘अहिले राजनीतिक अवस्था ज्यादै जटिल रहेको छ । हामी अहिले नै आगामी प्रधानमन्त्री को हुन्छ भनेर भन्न सक्दैनौं । अवस्था एकदमै रोचक छ । संघर्षको अवस्था रहेको छ ।’’

उनले अब आफूले राजनीतितिर ध्यान नदिएको बताउँदै आफूले कुनै व्यक्ति वा पार्टीको समर्थन नगर्ने बताएका छन् । रामदेवको यो भनाइलाई भाजपा र अन्य पार्टीका नेताहरुले पनि आश्चर्यको रुपमा लिएको पाइएको छ । किनकि यसअघि रामदेवले भाजपा र प्रधानमन्त्री मोदीको पक्षमा अभियान नै चलाएका थिए ।

करिब ६ महिना अघि योगी रामदेवले भाजपाका अध्यक्ष अमित शाहसँगको भेटमा मोदी सरकारले ४ वर्षमा गरेको कामको पनि प्रशंसा गरेका थिए । रामदेवले त्यतिबेला प्रधानमन्त्रीको इच्छा र नेतृत्वले देशलाई अगाडि लिएर गइरहेको जनाएका थिए । अमित शाहले आफू रामदेवको समर्थन लिनको लागि उनलाई भेट्न गएको बताउँदै आफूले केही भन्नु पर्ने भएकोले त्यहाँ गएको र रामदेवले धैर्यताका साथ आफ्नो कुरा सुनेको जनाएका थिए ।

त्यतिबेला अमित शाहले भनेका थिए, ‘‘यदि हामीलाई रामदेवको मद्दत मिल्यो भने उनका करोडौं समर्थकसँग पुग्न सजिलो हुन्छ । उनी सन् २०१४ मा हाम्रो साथमा थिए । हामी अहिले पनि उनीसँग आशिर्वाद मागिरहेका छौं ।”

रामदेवलाई आफ्नो व्यापारको चिन्ताको कारण भाजपा छोड्नुपर्ने अवस्था आएको जनाइएको छ । यसबीचमा भएका ५ वटा विधानसभा निर्वाचनमा भाजपाको पकड भएका तीन प्रदेशमा समेत सो पार्टीले हार व्यहोर्नुपरेको छ । त्यसैले गर्दा सन् २०१४ को चुनावमा भाजपालाई साथ दिएका रामदेव अहिले पन्छिने तयारीमा लागेको संकेत मंगलबारको उनको अभिव्यक्तिले दिएको छ ।

वरिष्ठ राजनीतिक विश्लेषक अनिकेन्द्रनाथ सेन भन्छन्,‘‘अब रामदेवको भूमिका बाबाको रुपमा मात्रै होइन कि व्यापारीको रुपमा अघि बढीरहेको छ ।’’ (बीबीसी )

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्