समायोजन विधेयकको विरोधमा कालो ब्यानरसहित कर्मचारीहरुको आन्दोलन
काठमाडौं : अध्यादेश मार्फत सरकाले ल्याएको समायोजन विधेयकको विरोधमा निजामती कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समिति बनाएर कर्मचारीहरु कालो ब्यानरसहित समायोजन विधेयकको विरोधमा उत्रिएका हुन ।
सरकारले ल्याएको विधेयक कर्मचारीको हितमा नरहेको र प्रदेश तथा स्थनीय तहमा जाँदा केन्द्रमा फर्किएर आउन पाउनु पर्ने माग गरेको छ । यसका साथै उनीहरुले सरकारले विधेयक मार्फत कर्मचारीको मुख्य सचिव बन्ने बाटो बन्द गरेको भन्दै कर्मचारीहरुको हितमा नरहेको बताएका छन् ।
यस्तै कर्मचारीले पाँच वर्षमा हुने वरिष्ठताको क्रमलाई सरकारले अंकुश लगाएको आरोप लगाएका छन् । कर्मचारीहरुले आफ्नो माग राख्दै आन्दोलनमा उत्रिने चेतावनी दिएपछि सरकाले गुनासो व्यवस्थापन समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।
जसमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र ट्रेट यूनिनयको आधिकारिक पदाधिकारी रहेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजनको प्रक्रिया सुरु हुनेछ ।
केन्द्रमा कार्यरत कर्मचारी यसअघि पारित भएको कर्मचारी समायोजन ऐन अनुसार समायोजन प्रक्रियामा सहभागी हुन नमानेपछि अध्यादेश ल्याइएको हो । अध्यादेशमा प्रदेश र स्थानीय तहमा जाने कर्मचारीका लागि ग्रेड बृद्धिसहितका सुविधाको व्यवस्था गरिएको छ । यस्तै माथिल्लो तहको पदका लागि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था पनि अध्यादेशमा गरिएको छ ।
यद्यपी सरकारले भने त्यसमा सुधार गर्न प्रक्रिया अगाडी बढाइ सकेको छ । मंगलवारको मन्त्रीपसषदले नै उक्त प्रक्रियालाई अनुमोदन गरिसकेको श्रोतको दावी छ ।
योपनि पढ्नुहोस् :