Logo
६ माघ २०८१, आईतबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा क्षेत्रमा अतिक्रमण : दशगजामा भारतीय पक्षले सुरु गरे सडक निर्माण

विराटनगर : मोरङको जहदा-१ कालाबञ्जरस्थित नेपाल–भारतको सीमा क्षेत्र दशगजामा भारतीय पक्षले क्षेत्रमा विभिन्न ठाउँमा माटो थुपारेर सडक निर्माण सुरु गरेको छ । नियम अनुसार दशगजा क्षेत्रमा कुनै पनि पक्षले कुनै प्रकारको संरचना निर्माण गर्न पाइँदैन ।

भारत बिहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी वस्ती हुँदै दशगजामा ५०० मिटरभन्दा बढी क्षेत्रमा माटो थुपारेर सडक निर्माण गरिएको छ ।

यस क्षेत्रमा अररियाको आमगाछी मुसहरी वस्ती र नेपालतर्फ कालाबञ्जर बस्ती छ । बिहार राज्यको विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको आमगाछी मुसहरी वस्तीका उमेश सदाले बताए ।

दशगजामा रहेको १७४ नम्बरको पिल्लरभन्दा ५०० मिटर वरसम्म एक्साभेटरले खनेर सडक निर्माण गरिएको छ ।

एक सातादेखि सडक निर्माण भइरहेको जानकारी प्राप्त भएपछि जहदा गाउपालिका-१ का अध्यक्ष प्रदिपचन्द यादवको पहलमा सडक निर्माण तत्कालका लागि रोकिएको छ ।

निर्माण भइरहेको जानकारी पाएपछि शनिबार यादवले उक्त ठाउँमा पुगी सशस्त्र प्रहरी बेस क्याम्प बुधनगर र इलाका प्रहरी बुधनगरलाई जानकारी गराएर सडक निर्माण रोक्न लगाएको बताइएको छ ।

उक्त ठाउँमा सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी वर्षायाममा थुनिएर जहदाको वडा नं। १ र विराटनगर महानगरपालिकाको वडा नम्बर १७ र १४ पनि डुबानमा पर्ने स्थानीयले बताएका छन् ।

सो ठाउँमा नेपालतर्फ दशगजा क्षेत्र सुरक्षित रहे पनि भारतीय किसानले दशगजा मासेर खेती समेत गर्दै आएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले दशगजा अतिक्रमण भएको विषयमा जानकारी आइसकेको बताए । उनले भारतीय पक्षसँग छलफल गरेर दशगजा क्षेत्र खाली गराइने समेत बताए ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्