प्रधानमन्त्रीज्यू ! नेपाल टेलिभिजन र रेडियो नेपाललाई जनताको ‘एक्सेस’ पर्ने ठाउँमा ल्याइदिनुस्
गण्डकी प्रदेश स्थित पोखराको फेवाताल किनारमा भइरहेको लिटरेचर फेस्टिभलको तेस्रो दिनको पहिलो सत्रको मञ्चमा पत्रकार तथा लेखक विजयकुमार पाण्डे र संचारकर्मी रवि लामीछाने देखा परे । । सेसन थियो‘अँध्यारो उज्यालो’ उक्त बहसमा नेपालको पछिल्लो पत्रकारिताका बारेमा अन्तरसंवाद सुरु भयो।
सुरुवातमै लामिछानेले पाण्डेलाई सोधे, ‘नेताहरूले तपाईंलाई बालुवाटारका कोठामा छिर्न दिएर, तपाईंलाई ठाउँ दिएर भुलाए कि? नेताहरूलाई तपाईंले पुल्पुल्याउनुभयो कि?’ जवाफमा पाण्डे बोले, ‘हामी गतिला भएका भए नेता खराब हुँदैनथे। मञ्चबाट ठूलो स्वरमा चिच्याएर कसैलाई गाली गर्दैमा परिवर्तन आउँछ भन्ने कुरामा म विश्वास गर्दिनँ।
म त्यो पत्रकारितामा पनि विश्वास गर्दिनँ।’ पुन लामिछानले सोधे, ‘तपाईंलाई चिन्नेहरूको नजरमा तपाईंप्रतिको दृष्टिकोण फरक छ। तपाईं नमस्कार पनि फर्काउनुहुन्न, नदेखेझैँ गरेर हिँड्नुहुन्छ रे ! किन यस्तो अप्ठ्यारो तपाईं?’ पाण्डेले जवाफ दिए, ‘सुरुमा म भनिहालौँ मेरो चस्मा पनि छ माइनस ५ को म पहिलेदेखि नै यस्तै हुँ, मेरो स्वभाव यस्तै हो।’
लामिछानेले पुन: पाण्डेलाई भने, ‘नेपाली पत्रकारितामा तपाईंको उपस्थित हाम्रो पुस्ताका लागि अनिवार्य छ। नयाँ योजना केही छन्?’ पाण्डेले जवाफ दिए: ‘आउने वर्ष २०१९ मा मैले १० एपिसोडको ठूलो टेलिभिजन प्रोजेक्ट सुरु गर्दै छु। म हराएको छैन। अस्ताउन लागेको सूर्य पनि रातै हुन्छ, जस्तो उदाउने बेला हुन्छ।’ लामिछाने: तपाईंले जीवनभरी नेताहरूलाई पुल्पुल्याउनुभो।
उनीहरूलाई सधैँ मञ्च दिनुभो। अहिले तिनै नेताले हामीलाई साह्रै दु:ख दिए। दोष तपाईंको हो कि होइन?’ पाण्डेको जवाफ थियो, ‘मञ्चमा कहिले हसाउने आउँछन्, कहिले रुवाउने। मञ्चको के दोष!’ कार्यक्रमको अन्त्यतिर दर्शकदीर्घाबाट लामिछालेलाई विष्णु नामका व्यक्तिले प्रश्न गरे, ‘पत्रकारको काम समाचार सम्प्रेषण गर्नु हो कि छापामार शैलीमा पीडक पक्षमा पुग्ने हो?’ उक्त प्रश्नको जवाफ लामिछानेले यसरी दिए, ‘हामीले कहिल्यै छापा मारेका छैनौँ। आवश्यक पर्दा प्रहरी प्रशासन, अख्तियारको साथमा हामी पनि सँगसँगै जान्छौं।
यदि कहिलेकाहीँ कुनै बदमासले आपराधिक क्रियाकलाप गरिरहेको छ र प्रहरी आइपुगेको छैन भने देशको जिम्मेवार नागरिकको हिसाबलले बचाउछौं प्रहरी कुर्नतिर लाग्दैनौँ। यसलाई छापामार शैली भन्न मिल्दैन। तपाईंलाई बताइदिऊँ धेरै व्यक्तिहरू आफ्ना पीडा लिएर हाम्रो अफिस आउने गर्नुहुन्छ। हाम्रो कार्यालयबाट राष्ट्रपति कार्यालय, सिआइबीको कार्यालय, पाँच मिनेटको दुरीमा प्रधानमन्त्री कार्यालय छ।
हाम्रो कार्यालयमा गुनासा लिएर आउने पीडित जनताको भिड देख्नुभयो भने जो कोही पनि आश्चर्यमा पर्नुहुनेछ। यसरी कार्यालयमा मानिसहरू आउदाँ संचारकर्मीको हिसाबले म खुशी छैन। उसो त नेपालमा जनताले आफ्ना पीडा, आफूलाई परेको अन्याय सुनाउने ठाउँ पनि कहीँ छैन।
प्रधानमन्त्रीज्यूलाई मेरो सानो अनुरोध के छ भने हिजो हाम्रा राजा महाराजाले आफूविरुद्ध केही होला कि भनेर जनताको घेरोभन्दा भित्र राखेको नेपाल टेलिभिजन र रेडियो नेपाललाई सिहंदरबारबाट बाहिर ल्याएर जनताको ‘एक्सेस’ पर्ने ठाउँमा राखिदिनुस्। आफ्ना गुनासो राख्न जाँदा पास लिनुपर्ने बाध्यात्मक परिस्थितिलाई हटाइदिनुभए कल्याण हुने थियो।’