Logo
१२ मंसिर २०८१, बुधबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातवटै प्रदेशबाट पुस १५ देखि श्रम स्वीकृति दिने तयारी

धनुषा :  श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो ।

मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश-२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् ।

श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा शुरु गर्न आन्तरिक तयारी भइरहेको बताए । उनले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको जानकारी दिए । उनले भने, “पुस १५ देखि सेवा शुरु गर्न सकिने अवस्था हेरेर नै समयसीमा तोकिएको हो र सोहीबमोजिम तयारी भइरहेको छ ।”

श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम शुरु गर्न समय नलाग्ने बताए । उनले तोकिएको समयबाट नै सेवा शुरु हुने बताए ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्