Logo
६ माघ २०८१, आईतबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुम्बाराहीमा नेकपाका नेताहरुबीच भनाभन भइरहँदा , माओवादी नेताहरु मख्ख

काठमाडौं : केहि दिन अघि काठमाण्डौमा सम्पन्न तर निकै विवादित भएको एसिया प्यासिफिक सम्मेलन र त्यसमा पार्टी र सरकारका प्रतिनिधिहरुको सहभागिताबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच चर्काचर्की भएको छ ।

नेकपाको आइतबार बिहान बसेको स्थायी समिति बैठकमा सम्मेलनमा पार्टीका नेताहरु सहभागी भएको विषयमा पक्ष–विपक्षलाई लिएर चर्काचर्की भएको हो ।

सम्मेलन र सहभागिताको विषयको बचाउमा नेता माधव नेपाल र केपी ओली उत्रिएका थिए । नेताहरु भीम रावल, घनश्याम भुषाल, वेदुराम भुषाल, अग्नि सापकोटा, लगायतका नेताहरुले त्यसको विरोध गरेका थिए ।

माधव कुमार नेपालले एसिया प्यासिक सम्मेलनमा सरकार र पार्टीको संलग्नताको बचाउ गर्दै जवाफ दिइरहेका बेला भीम रावल र बेदुराम भुषालले उठेर प्रतिवाद गरेका थिए ।

जवाफ दिने क्रममा नेता नेपालले कार्यक्रममा सहभागी हुँदैमा देशको शिर ननिहुरिने भन्दै सो संस्था समेत गलत नभएको बचाउ गरे ।

नेता नेपालले यस्तो भनिरहँदा नेताहरु नारायणकाजी श्रेष्ठ, भीम रावल, अग्नि सापकोटा, बेदुराम, घनश्याम भुषाल, योगेश भटटराई र रघुजी पन्तहरुले सम्मेलनमा सरकार नै आयोजकमा बस्नु र नेताहरु सहभागी हुनु गम्भिर गल्ती भएको भन्दै आत्मालोचना गर्नुपर्ने अडान राखेका थिए ।

माधव नेपाल बोलेलगत्तै सो सम्मेलनमा उठेका प्रश्नको प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलेले जवाफ दिएका थिए । जवाफ दिने क्रममा ओलीले उक्त विषय सकिइसकेकाले त्यसैलाई उठाइरहनु जायज नभएको बताएका थिए ।

अध्यक्ष ओलीले प्रतिवेदन पास गर्ने बेलामा गर्न सकिने र समेट्न सकिने विषयहरु समावेश गरेर अघि बढ्न सकिने विकल्प कायमै रहेको जवाफ दिएका थिए ।

स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ८ दिनयता जारी पार्टी स्थायी समितिको आईतबार बिहान बसेको बैठकमा नेता प्रदिप ज्ञवालीले पनि आफ्नो विचार राखेपछि अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा पेश गरेको प्रतिवेदनमाथिको छलफल सकिएको हो ।

छलफलमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ आजै अपरान्ह बस्ने पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्