Logo
३ मंसिर २०८१, सोमबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री बन्दै हृदेश त्रिपाठी : भन्छन् -‘अर्थमन्त्रीको कारण सरकारप्रति नकारात्मकता बढ्यो’

काठमाडौं : ओली सरकारमा मन्त्री बन्ने तयारीमा रहेका स्वतन्त्र राजनीतिक समूहका संयोजक एवम् सांसद हृदेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै यसको नकारात्मकता बढ्न थालेको आरोप लगाएका छन् । नेकपाको स्थायी समितिको बैठकपछि मन्त्रीपरिषद रेरफेर गर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा अ‍ेली रहेका छन् । यसैपटक त्रिपाठी पनि उनको मन्त्री परिषदमा जान लागेको श्रोतको दावी रहेको छ ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै सांसद त्रिपाठीले अर्थमन्त्रीको गतिविधिले गर्दा वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले भने,‘यो सरकारलाई बढि प्रभावित चाहीँ बजेट प्रस्तुतिले पनि गरेको हो । र, अर्थमन्त्रीको गतिविधिले पनि सरकारलाई प्रभावित गरेको छ ।’

अधिकांश सरकारको सफलता र विफलता ५० प्रतिशतभन्दा बढि त अर्थमन्त्रालयको गतिविधिमा निर्भर गर्ने उनको भनाई छ । उनले थपे,‘बजेट जुन दिन प्रस्तुत हुन्छ, त्यही वेलादेखि चर्चा सुरु हुन्छ । तर, ठाउँमा पुग्न चार–पाँच महिना लाग्छ ।’ नेपालको अर्थतन्त्रको सबैभन्दा कुरुप कुरा नै विकास खर्च पूरा गर्न नसकेको रहेको उनको भनाई छ ।

त्रिपाठीले थपे,‘२०३४ सालदेखि अहिलेसम्म हामीले विकास खर्च कहिल्यैपनि विकास खर्च पूरा गर्न सकेनौं । जबसम्म विकास खर्च पूरा हुँदैन, तबसम्म आर्थिक रुपमा बजारलाई चलायमान र जनतालाई पनि विकासप्रति आकर्षित गर्ने काम गर्न सक्दैन् ।’

संसदमा वर्तमान सरकारको संख्यात्मक उपस्थिति बलियो हुँदाहुँदैपनि विकास खर्च गर्न नसकेको उनले आरोप लगाए । उनले भने,‘सरकारले बरु विकास खर्च गर्न किन सकिएन भनेर समिक्षा गर्नुपर्ने हो, कानुनमा त्रुटि छ भने कानुन संशोधन गर्नुपर्यो । यदि संरचनाको अभाव छ भने पनि संरचना निर्माण गर्नुपर्यो ।

तर, सरकार त्यतातर्फ गएको देखिँदैन् । अहिलेसम्म विकास खर्च ५/६ प्रतिशतमै अलमलिएर बसेको छ। यदि यही प्रक्रिया कायम रह्यो भने सर्वाधिक कम विकास खर्च हुने आर्थिक वर्ष यही वर्ष सावित हुनेछ।’ नेता त्रिपाठीले सरकारको गतिविधिबारे स्वयम सत्तारुढ दल नेकपाका नेताहरुपनि सन्तुष्ट नरहेको स्थायी समितिको बैठकबाट प्रष्ट भैसकेको बताए ।

सरकारसँग समय र संख्याको अनुकुलता रहेकोले आगामी दिनमा यसले आफ्नो प्रस्तुतिलाई सच्याएर सही दिशामा अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले जनाए ।

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्