Logo
६ माघ २०८१, आईतबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको कामप्रति सन्तुष्ट छु, समिटको नाममा कमजोरी भयो : सुवास नेम्वाङ्ग

काठमाडौँ : राजधानी काठमाण्डौमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारको बचाउ गरेका छन् । सरकारको काम कार्वाहीलाई लिएर धेरैजसो नेताहरुले असन्तुष्टि जनाईरहेका बेला उपनेता नेम्वाङले सरकारले ‘धेरै महत्वपूर्ण’ काम गरेको उल्लेख गर्दै त्यसको प्रचार जनस्तरमा पुर्‍याउन पनि पार्टीका नेताहरुलाई आग्रह गरे ।

उनले पार्टी एकताको सन्देश स्थानीय तहमा पुर्‍याउन ढिलाई गर्न नहुनेमा पनि जोड दिए । गत शनिबारदेखि जारी पार्टी स्थायी समितिको शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै संसदीय दलका उपनेता नेम्वाङले सरकारको काम कार्वाहीप्रति आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

उपनेता नेम्वाङले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’को पत्रमा सरकार र संघीय संसदको लोगो प्रयोग गरेकोमा भने असन्तुष्टि व्यक्त गरे । यस अघिको बैठकका नेता भीम रावललगायतका नेताहरुले सो सम्मेलनमा सहभागी भएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नु पर्ने माग समेत गरेका थिए ।

बैठकमा नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचनसहित ७ जना नेताहरुले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए । नेकपा स्थायी समितिको बैठक भोलि पनि पुनः बस्नेछ ।

भोलिको बैठकमा नेताहरुको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिने र पर्सी (आइतबार) बस्ने बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष ओली र दाहालले दिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

समिटमा संसद र सरकारको लोगो प्रयोग हुनुहुन्थेन त्यो कमजोरी भयो

युनिफिकेशन चर्चको हालै सम्पन्न एशिया प्यासिफिकेशन समिटिमा सरकारको सहभागितालाई लिएर पूर्व सभामुख एवं नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङले मुख खोलेका छन् । नेकपाको स्थायी समिति बैठकको सातौ दिन नेम्वाङले त्यसबारे आफ्नो विचार व्यक्त गर्दै भनेका छन्, ‘समिटमा संसद र सरकारको लोगो प्रयोग हुनुहुन्थेन त्यो कमजोरी भयो ।’

बैठकमा पहिलो दिनदेखिनै समिटमा आफ्नो सहभागितालाई लिएर सरकारले आत्माआलोचा गर्दै जनतासँग माफी माग्नु पर्ने दवाव दिइरहेका बेला नेम्वाङले त्यस्तो धारणा राखेका छन् । नेम्वाङले पार्टी या सरकार दुवै अघि बढेमा मात्रै जनताको मन जित्न सकिनेमा जोड दिएका छन् ।

बैठकपछि नेम्वाङले भने, ‘पार्टीमा कही कतै कमजोरी छन् भने त्यसलाई सच्याउनु पर्छ । पार्टीको पद्धती र प्रक्रिया विरुद्ध भएका कुराबारे पनि बैठकमा राखेको छु । त्यही भूमिका खेल्नुपर्छ । सरकारको बारेमा पनि त्यही हो ।’ नेम्वाङले पार्टी नेतृत्वका गतिविधिका असन्तुष्टीहरु पार्टी भित्रै खुल्ला दिलले राख्नुपर्छ भन्ने सुझाव समेत आफुले दिएको उनले बताए।

‘सरकार हामीले चलाएका छौँ यसलाई कसरी अघि बढाउने भन्नेबारे पनि छलफल गर्नु पर्छ । हामीले गर्न नसकेका काम के के हुन त्यो पहिल्याउनु पर्छ,’ उनले भने ।नेम्वाङले पार्टी नेतृत्व वा सचिवालयबाट प्रस्तुत प्रतिवेदनबारे पनि गम्भीर छलफल आवश्यक भएको बताए । उनका अनुसार निर्वाचनका बेला जनतासमक्ष प्रतिवद्धता व्यक्त गरेको र त्यो निश्चित समयमा पुरा हुनुपर्छ ।

त्यसका लागि अहिलेदेखिनै गम्भीर गृहकार्य गर्नु पर्छ । उनले भने, ‘आवधिक निर्वाचन भनेका छौँ । कुनैदिन जनतासमक्ष सम्पूर्ण हिसावकिताव लिएर उपस्थित हुनुपर्छ । मैले त चुनावकै बेलामा भनेको थिए की अहिले प्रतिपक्षीका साथीहरु समेतको कमजोरीलाई हामीले पाठ सम्झनुपर्छ ।’

जनतासमक्ष हिसावकिताव पेश गर्न नसकेको खण्डमा अर्को पटक जनताद्धारा दण्डित हुने पालो नेकपाकै हुने समेत उनले चेतावनी दिए ।सरकारले महत्वपूर्ण काम गरेपनि कतिपय सन्दर्भमा प्रश्न उठेको र त्यसबारे खण्डन या छलफल नगरेमा नकारात्मक परिणाम आउने उनको भनाई छ।

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्