३० वर्षअघि आँटेको विकासको काम पुरा भयो : नेपाल-भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम सम्पन्न
दार्चुला : भारतसँग सीमा जोडिएको लेकम गाउँपालिका-३ लालीमा निर्माण भएको नेपाल-भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ ।
लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापन अन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनी मनोमालिका कन्सटक्र्सनका प्रतिनिधि दीपक साउँदले बताए ।
पुलको प्राविधिक रुपमा स्वीकृत गरेपछि झोलुङ्गे पुलबाट आवतजावत गर्न दिइनेछ । पुल निर्माणको प्राविधिक मूल्याङ्कन गर्न यही दुई तीन दिनभित्र प्राविधिक टोली लाली आउने कार्यक्रम रहेको साउँदले बताए ।
पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते देशभरका तुइन दुई वर्षभित्र हटाउने घोषणा गरेका थिए । उक्त घोषणमा दार्चुलाको लेकम क्षेत्रमा सञ्चालन रहेको ट्युब तथा उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका तुइन विस्थापन गर्ने लक्ष्य राखिएको थियो ।
लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणको लागि ०७३ असोज ४ गते कूल रु १ करोड ३२ लाख लागतमा सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवतजावत गर्दै आएका स्थानीयवासीलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताए ।
पुल निर्माण करीब सकिएको छ, बुडालले भने, “दुवैतिर ढोका बन्द गरेर राखेका छौँ । अहिले पुलमा आवतजावत गर्न दिएका छैनौँ । प्राविधिक रुपमा मूल्याङ्कन नगरिएको कारण पुलबाट स्थानीयवासीलाई आवतजावत गर्न नदिइएको हो ।
पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने लेकम गाउँपालिका स्थानीयवासी गणेश भण्डारीले बताए । २०४८ सालमै लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण हुन्छ भनेर सुनेका स्थानीयवासीले झण्डै ३० वर्षपछि झोलुङ्गे पुल पाएका हुन् ।
पुल नहुँदा यहाँका स्थानीयवासीले ट्युबको सहारामा दैनिक उपभोग्य सामग्री ल्याउने गरेका थिएृ । अहिले झोलुंगे पुल निर्माण भएदेखि स्थानीय बासिन्दा हर्षित बनेका छन् ।