Logo
६ माघ २०८१, आईतबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई अध्यक्षबीचको एकता विश्वकै नमूना, संविधानले दिने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौँ : प्रधानमन्त्री

काठमाडौँ : तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

सो कार्यक्रममा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरेपनि सफल नहुने पनि स्पष्ट पारे ।

देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने उनको भनाई थियो । ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति फर्कदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जना नै प्रधानमन्त्री हुने भन्दै ठट्टा पनि गरे । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको दाबी पनि गरे ।

उनले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भइरहेको भन्दै आक्रोश पनि व्यक्त गरे । प्रहरी तालिम केन्द्र तीन दशक अघि पनौति सार्ने निर्णय भएपनि त्यसलाई अघि सारेर गणतन्त्र विरोधीहरुले राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि निरन्तर आक्रमण गरिरहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खोजिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान गर्न पार्टीका कानुन व्यवसायीहरुलाई आग्रह गरे ।

उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच हुने अपुगलाई पूर्णता दिन पार्टीका कानुन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास पनि व्यक्त गरे । अध्यक्ष दाहालले मुलुकलाई एकतावद्ध बनाउने अभियानमा पार्टीका सबै नेता, कार्यकर्ताहरुको उत्तिकै प्रयास आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्