Logo
६ माघ २०८१, आईतबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा बैठक : ओली-प्रचण्डको राजनीतिक प्रतिवेदनमा बामदेवको फरक मत

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको संयुक्त प्रतिवेदनमा नेता बामदेव गौतमले फरक मत राखेका छन् । यद्यपि उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनलाई ‘समृद्ध बनाउन’ भन्ने भाषा प्रयोग गरेका छन् । गौतमले प्रतिवेदनको शीर्षक ‘पार्टी र सरकारलाई व्यवस्थापन गर्न आफ्नो विचार’ राखेका छन् ।

अर्को बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गौतमले फरक मत राखेका हुन् । ‘राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउन सहयोग पुर्‍याउन बामदेव गौतमले पनि लिखित विचार प्रस्तुत गर्नुभएको छ’, बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने ।

ओली र प्रचण्डले बैठकमा प्रस्तुत गरेको संयुक्त राजनीतिक प्रतिवेदन र अन्य एजेन्डामा बैठक केन्द्रित रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक तीन विषयमा केन्द्रित छ । पार्टीको सांगठनिक एकीकरणको बाँकी कार्यभार पूरा गर्ने, पार्टी संचालन र पार्टीको कामको समीक्षा गर्ने तथा पार्टीको नयाँ कार्ययोजना बनाउने विषयमा अध्यक्षद्वयको प्रतिवेदनमा केन्द्रित रहेको श्रेष्ठले जानकारी दिए ।

ओलीले बैठक प्रारम्भ गर्दै देशको राजनीतिक परिस्थिति र बैठकको औचित्यबारे बोलेका थिए। त्यसपछि प्रचण्डले राजनीतिक प्रतिवेदनको संक्षिप्त व्याख्या प्रस्तुत गरेका थिए ।

८ वटा उपशीर्षकमा बाँडिएको अध्यक्षद्वयको प्रतिवेदनमा पार्टी एकताको महत्वको व्याख्या, सांगठनात्मक एकताको अहिलेसम्मको अवस्था र अब गर्नुपर्ने काम, सरकार संचालनको ९ महिनाको समीक्षा र अब जानुपर्ने दिशा, राष्ट्रिय राजनीतिक परिस्थितिको व्याख्या लगायतका विषय समेटिएका छन् ।

प्रतिवेदनमा राजनीतिक दलहरूको भूमिकाको चर्चा, केन्द्रीय सचिवालयका निर्णय अनुमोदनको प्रस्ताव, पार्टीको आन्तरिक जीवनको चर्चा र आगामी कार्यभार पनि समेटिएका छन् । अध्यक्षद्वयका प्रतिवेदन र नेता गौतमको विचार अध्ययनका लागि नेताहरूलाई आइतबार एक दिन समय दिइएको छ ।

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्