Logo
६ माघ २०८१, आईतबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी समिति बैठक सम्पन्न : बैठकमै ओली–प्रचण्डलाई वामदेवको काउन्टर

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दााल प्रचण्डले संयुक्त रुपमा तयारपारेको प्रतिवेदन पेश गरेका छन् । बैठकमा पार्टीका प्रभावशाली नेता बामदेव गौतमले पनि छुट्टै प्रतिवेदन पेश गरेका छन् ।

अध्यक्षद्वयको २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको हो । प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार लगायत शिर्षकमा ब्याख्या गरिएको छ ।

अध्यक्षद्धय ओली-प्रचण्डले पेश गरेको प्रतिवेदनमा आगामी पुषभित्रै एकता टुँगो लगाउने कुरा उल्लेख गरिएको छ । त्यस्तै प्रतिवेदनमा सरकारको समिक्षा पनि गरिएको छ । आउने माघ, फागुणपछि पार्टी एकताको सन्देश लिएर देशव्यापी जानेपनि उल्लेख गरिएको छ । नेता गौतमले लिखितरुपमा सुझावसहित फरक मत राखेका छन् । अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र नेता गौतमको फरक मतसहितको सुझाव अध्ययनका लागि सबै सदस्यलाई आज वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकार र पार्टी संचालन, पार्टी एकीकरणको अवस्था, आगामी राजनीतिक कार्यभार लगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरेर सोमबार बस्ने बैठकमा छलफल हुनेछ। पार्टी एकतापछि पहिलो पटक निर्धारित समयमा नै सुरु भएको बैठक दुई घन्टामात्र चलेको थियो। अर्को बैठक पुष २ गते सोमबार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा नै बस्ने श्रेष्ठले जनाए ।

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्