Logo
६ माघ २०८१, आईतबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महासमितिको बैठक सुरू : जब देउवा र पौडेलले मञ्चमै हात मिलाए

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महासमितिको बैठक सुरू भएको छ । केन्द्रीय सदस्य रामशरण महतले महासमिति बैठकले एकताको सन्देश दिन सक्नुपर्ने बताएका छन् । शनिबारदेखि राजधानी काठमाडौंमा सुरू महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य महतले यस्तो बताएका हुन् ।

उनले विनापूर्वाग्रह आन्तरिक समिक्षा गर्दै सबैमा आशा जगाउने गरी महासमिति बैठकले एकताको सन्देशसहित ठोस रणनीति बनाउन सक्नुपर्ने बताएका हुन् । प्रतिपक्षी दलको भूमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आइपुगेको भन्दै आत्मसमिक्षासहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्ने बताए ।

पद र व्यक्ति तथा गुटभन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्नेमा उनले जोड दिए। वर्तमान सरकारबाट निराश बनेकालाई आशा जगाउने गरी महासमिति बैठकले रणनीति बनाउनुपर्ने तर्क पनि उनले गरे । उनले पुन: सत्ताको नेतृत्वमा पार्टीलाई पुर्याएर मुलुकलाई समुन्नत विकासको बाटोमा लैजानका लागि पार्टीभित्र पुर्नजागरणको अभियान चलाई सुदृढ र शक्तिशाली बनाउनुपर्ने उल्लेख गरे।

जब देउवा र पौडेलले मञ्चमै हात मिलाए

कांग्रेस महामन्त्री शशांक कोइरालाले सम्बोधन गरिसकेपछि पालो आयो, उपसभापति विजयकुमार गच्छदारको। गच्छदारको वाकपटुताबारे प्रायः कांग्रेसीहरु जानकार छन् । पार्टीको आन्तरिक एकतामा जोड दिँदै सरकारका गतिविधिमाथि खरो टिप्पणी गरेका गच्छदारले वि.सं. २०५६ सालमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलाई एक बनाएको घटना सम्झिए।

‘गिरिजाबाबु र किसुनजीबीच गम्भीर विमति थियो, वि.सं. २०५६ सालमा एक कार्यक्रममा उहाँहरुले हात मिलाउनु भयो, एकताको सन्देश दिनु भयो,’ गच्छदारले भने, ‘उहाँहरु मिलेपछि पार्टीले बहुमत ल्यायो।’ फेरि त्यही इतिहास दोहोर्याउन गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे। त्यसपछि कार्यकर्ताबाट हुटिङ भयो –देउवा र पौडेललाई हात मिलाउन भन्दै।

त्यसपछि कार्यकर्ताहरुले दुई नेताको मिलनको स्वागत गर्दै तालीले स्वागत गरे। नेपाली कांग्रेसको महासमिति बैठक शनिबार काठमाडौँमा सुरु भएको छ। बैठकले कांग्रेसलाई रुपान्तरण गर्ने उद्घोष नेताहरुले गरेका छन्।

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्