Logo
६ माघ २०८१, आईतबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महासमितिका लागि रजिस्ट्रेशन हुँदै, प्रतिवेदन पारितका लागि बस्ने बैठकमा समस्या

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक शुक्रबार काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक हुनु पर्ने भए पनि सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछिको यो पहिलो महासमिति बैठक हो । महासमिति बैठकको सबै तयारी पूरा भएको कांग्रेसले जनाएको छ । पुस तीन गतेसम्म चल्ने बैठकमा पार्टीको प्रस्तावित विधानसहित संगठनात्मक विषयमा छलफल हुनेछ ।

२०४६ सालपछि सातौं पटक शुक्रबारदेखि नेपाली कांग्रेस महासमितिको भेला काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन हुने वर्षलाई छाडेर हरेक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि मात्र काठमाडौंमा भेला हुन लागेको हो । काठमाडौंस्थित यलम्बर पार्टी प्यालेसमा शनिबार महासमिति भेलाको औपचारिक उद्घाटन हुनुअघि शुक्रबार पार्टी मुख्यालय सानेपामा दिउँसो २ देखि साँझ ५ बजेसम्म रजिस्ट्रेसन गराउनुपर्नेछ। रजिस्ट्रेसनको समय भने लम्बिन सक्ने मुख्यालय स्रोतले बताएको छ ।

झण्डै सवा दुई घण्टाको उद्घाटन सत्रपछि शनिबार दिउँसो नै बन्दसत्र सुरु हुने पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताएका छन् । अहिलेसम्म भेलामा पेश हुने पाँच मध्ये एउटामात्रै प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरेको छ । चार वटा मुख्य प्रतिवेदन पारित गर्न शुक्रबार दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बस्दैछ ।

यही बैठकले जसरी पनि प्रतिवेदन पारित गर्ने दावी नेताहरुले गरेका छन् । महासमितिमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री शशांक कोइरालाले संगठनसम्बन्धी, अर्का महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीको नयाँ विधान मस्यौदा प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले कोष तथा लेखासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिवेदनमाथि पुस १ गतेदेखि छलफल हुनेछ । अहिलेसम्म आर्थिक प्रतिवेदनमात्र केन्द्रीय समितिबाट पारित भएको छ । महासमितिका लागि देश र विदेशबाट गरी १४ सय भन्दा बढी प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

विधान संशोधन मुख्य एजेण्डा

विधान संशोधन मुख्य एजेण्डाका साथ शुरू हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तावेज पनि पेश हुँदैछ । पुस ३ गतेसम्म बस्ने बैठकको उद्घाटन शनिबार हुने भएको छ । पहिलो दिन शुक्रबार अपरान्ह पार्टी प्रधान कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको छ भने शनिबार ११ वजे यगम्बर पार्टी प्यालेस रामशाहपथमा उद्घाटन कार्यक्रम राखिएको छ ।

अढाईघण्टाको उद्घाटन शत्र सकिएलगत्तै लगातार पुस ३ गतेसम्म बन्दशत्र सञ्चालन हुनेछ । बन्दशत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णवहादुर खड्काले विधान संशोधनको प्रस्ताव राख्नुहुने छ भने अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्नुहुनेछ ।

महासमिति बैठकमा उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज र सह महामन्त्री डा. प्रकाशसरण महतले काग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन पेश गर्नुहुने छ । पार्टीको आर्थिक प्रतिवेदन भने कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गर्नुहुनेछ । बैठकमा प्रस्तुत हुने ५ वटै दस्तावेजमाथि छलफल गर्न महासमति सदस्यहरुको ७ वटा प्रदेश स्तरीय समुह बनाइने छ ।

यो समूह बनाइसकेपछि भोलिपल्ट आइतबारदेखि लगातार ती दस्तावेजमाथि छलफल हुने छ । केन्द्रिय समितिबाट सर्वसम्मत पास भएर आएपनि फरक धारणा सहित आएपनि पाच वटै सबै महासमिति बैठकमै पेश हुनेछ । महासमिति बैठकले केन्द्रिय समितिले सर्वसम्मतीले ल्याएको प्रस्तावलाई समेत इन्कार गर्न सक्छ ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमतिमा १ हजार ६ सय ६० सहभागि हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रबाट (२४०) बाट पाच जनाको दरले १ हजार २ सय महासमिति प्रतिनिधि हुनेछन् भने भातृ एवं शुभेच्छुक संघसंस्थाका ९७ जना प्रतिनिधि र जनसम्पर्क समिति बाट पनि ९७ जना प्रतिनिधि सो बैठकमा सहभागि हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति र २६ जना सांसद पनि महासमिति बैठकमा भाग लिदैछन् । केन्द्रिय सदस्यहरु सबै सो बैठकमा उपस्थित हुनेछन् ।

महासमिति बैठकको उद्घाटन शत्रलाई भव्य बनाउन एउटा ठुलो मञ्चको व्यवस्था गरिएको छ भने फोटो पत्रकारहरुका लागि दाया बाया दुईवटा अर्को मञ्च बनाइने भएको छ । पत्रकार र चिकित्सकहरु बस्नको लागि छुट्टै व्यवस्था गरिएको छ । हरेक दिन बेलुकी ४ बजे पत्रकार सम्मेलन गरि बन्दशत्रमा भएको छलफलबारे जानकारी दिन मिडिया सेन्टरको पनि व्यवस्था गरिएको प्रवक्ता शर्माले बताउनु भएको छ ।

महासमिति बैठकको स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काठमाडौं कांग्रेसका सभापति सबुज वाणियाका अनुसार एक करोड रुपैयाँभन्दा कम खर्चमा यो महासमति बैठक सम्पन्न गरिँदै छ । महासमित बैठकको लागि कतैबाट पनि चन्दा नलिएको नेपाली कांग्रेसले जनाएको छ । देशभरबाट आएका महासमिति सदस्यले बेलुकीको खाना र बसोबासको व्यवस्था स्वयंले गर्नुपर्ने भएको छ । पार्टीले बिहानको खाना र खाजाको मात्र व्यवस्था गर्ने भएको छ ।

केन्द्रिय समितिमा भाँडभैलो

विधान संशोधन लगायत महासमिति बैठकमा पेश गरिने दस्तावेजमाथि छलफल गर्न बसेको मंसिर ९ गते देखि बसेको काग्रेस केन्द्रिय समिति बैठक शुक्रबार पनि जारी रहने छ । कांग्रेस बैठकले समग्र आर्थिक नीतिबाहेक अन्य कुनैपनि दस्तावेज पारित गर्न सकेको छैन । विधान मस्यौदा माथिको छलफल सकेपनि आधिकारीक निर्णय गर्न सकेको छैन । राजनीतिक दस्तावेज माथिको छलफल पनि अझै सकिएको छैन ।

पार्टीको राजनीतिक र सांगठनीक दस्तावेजमाथि केन्द्रिय समितिमा मतभिन्नता व्यापक छ । शुक्रवारको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरीक आर्थिक प्रतिवेदन र लेखा परिक्षण समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परिक्षण प्रतिवेदन पेश गर्नुभएको छ ।

महासमिति बैठक आजदेखि शुरू हुने भएपनि महासमिति बैठकमा प्रस्तुत गरिने दस्तावेजमा केन्द्रिय समिति बैठकमा भाँडभैलो भएकै कारण शुक्रबार नाम दर्ता मात्र गर्ने गरि उद्घाटन शत्र भोलीलाई सारिएको छ । गुट उपगुटमा विभाजित काग्रेस केन्द्रिय समितिले महासमिति बैठमा सर्वसम्मत रुपमा दस्तावेज पेश गर्न नसके फरक धारणा सहित दस्तावेज महासमितिमा पेश गरिने प्रवक्ता विश्वप्रकाश शर्माले स्पष्ट पारिसक्नु भएको छ ।

केन्द्रदेखि गाउँ तहसम्म गुट उपगुटमा विभाजित काग्रेसभित्र मुख्य रुपमा संथापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण प्रसाद सिटौला पक्षको गुट छ । साथै प्रभावशाली नेताहरुको छुट्टाछुट्टै उपगुट पनि रहेको छ ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्