मदिरा उद्योगमाथि सरकार खनियो, अब नयाँ उद्योग दर्ता नै नहुने
काठमाडौं : मदिराका कारण मुलुकभर बेतिथी बढेको भन्दै सरकार मदिरा उद्योगमाथि खनिन थालेको छ । मदिरा नियन्त्रणमा लागेको गृहमन्त्रालयले नयाँ मदिरा उद्योगलाई दर्ता नै नदिने भएको हो । मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको छ ।
गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको सो आदेशअनुसार ५० प्रतिशत पूर्वाधार तयार गरिसकेका मदिरा उद्योगले पनि अनुभति पाउने छैनन् ।
‘नयाँ मदिरा उद्योगको अनुमति तथा दर्ता गर्ने कार्य हाललाई स्थगित गरिनेछ, इजाजतप्राप्त गरी ६० प्रतिशतभन्दा बढी लगानी र तयारी पूरा गरेका बाहेकका सञ्चालनमा आउन बाँकी मदिरा उद्योगलाई उद्योग सञ्चालन अनुमति अर्को व्यवस्था नहुन्जेलका लागि रोक्का गरिनेछ’, आदेशमा उल्लेख छ ।
त्यस्तै सञ्चालनमा रहेका उद्योगको शाखा विस्तार र क्षमता अभिवृद्धिमा पनि रोक लगाइएको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषदबाट पास हुनासाथ आदेश तुरुन्तै लागु हुनेछ । यसले अब नयाँ मदिरा उद्योग खुल्न पाउनेछैन ।
मदिराबाट ठूलो कर असुलेको सरकारले मदिरा उद्योगलाई नै धराशायी बनाउन दर्ता नै रोकिनुलाई आश्चर्य मानिएको छ ।