Logo
६ माघ २०८१, आईतबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औपचारिक रुपमा विना आमन्त्रणकै मुुख्यमन्त्री योगी जनकपुर आउँदै

जनकपुरधा : प्रदेश सरकारको निम्तो विना नै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउन लागेको खुलासा भएको छ ।  मंसिर २६ गतेको विवाह पन्चमीका सहभागी हुन आउने भन्दै स्वागतका लागि तयारी तीब्र पारिएपनि उनी विना निमन्त्रण जनकपुर आउन लागेका हुन् ।

प्रदेश २ सरकार, स्थानीय तह तथा परराष्ट्र मन्त्रालयले उनलाई औपचारिक रुपमा आमन्त्रण गरेका छैनन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पनि योगीको भ्रमणका बारेमा प्रदेश सरकारलाई औपचारिक जानकारी नआएको बताए । यद्यपि भ्रमणबारे अनौपचारिक तहबाट जानकारी आएकाले स्वागतको तयारी गरिएको उनले बताए ।

‘योगीको जनकपुर भ्रमणबारे हामीलाई औपचारिक जानकारी अहिलेसम्म आएको छैन, तर विभिन्न संयन्त्रबाट योगी जनकपुर आउने जानकारी पाएका छौँ । मन्त्री यादवले भने, ‘विदेशी पाहुना संघीय सरकारलाई जानकारी नदिइ आउन त आउदैनन् तर उनी आउने जानकारी हामीले पाएपछि आफ्नो परम्परा अनुसार पाहुनालाई गरिने स्वागतकालागि तयारीमा छौँ ।’

रामजानकी विवाह पञ्चमीको अवसरमा मंसिर २६ योगी जनकपुर आउने भएपछि जानकी मन्दिर तथा प्रदेश सरकार दुबै स्वागतमा जुटेको हो । उनको भ्रमणलाई दृष्टिगत गरी भारतीय राजदुत मन्जिभसिंह पुरीसमेत जानकी मन्दिरका महन्तसँग औपचारिक छलफल गरेका छन् । पटकपटक उच्च सुरक्षा अधिकारीहरुको बैठकसमेत बस्दै आएको छ ।

रामजानकी विवाहोत्सवको अवसरमा हरेक पाँच वर्षपछि भारतको अयोध्याबाट जन्ती आउने परम्परा छ । महोत्सवमा जन्तीको रुपमा आउन जानकी मन्दिरले अयोध्यामा औपचारिक निम्तो दिने गर्छ । तर, यसअघि अयोध्याबाट जन्ती आएको पाँच वर्ष नपुगेकाले जानकी मन्दिरले पनि निम्ता पठाएको छैन ।

योगी जनकपुर झरेपछि विमानस्थलमा प्रदेश सरकारकै कुनै प्रतिनिधिले उनलाई स्वागत गर्ने कानुनमन्त्री यादवले जनाए । उनको भ्रमणलाई दृष्टिगत गरी चारै तहका ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको उनले जानकारी दिए । आदित्यनाथको जनकपुर भ्रमण विशुद्ध रुपले धार्मिकमात्र रहेको बताइएको छ ।

यस्तो छ योगीको कार्यक्रम तालिका
मुख्यमन्त्री योगी निजी विमानबाट विहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। त्यसपछि सोझै जानकी मन्दिर पुगेर पूजाअर्चना गर्नेछन् । जानकी मन्दिरबाट ‘मधेश भवन’ पुगेर प्रदेश सरकारले उनको सम्मानमा आयोजना गरेको दिवा भोजमा आदित्यनाथ सहभागी हुनेछन् ।

दिवा भोजमा योगीसँगै आएका करिब अढाई सय जन्ती, मन्दिरका महन्तलगायत प्रदेश २ का सांसदहरु पनि सरिक हुने बताइएको छ । भोजमा संघीय सरकारका मन्त्रीलगायत करिब १५ सय व्यक्ति सहभागी हुने मन्त्री यादवले जानकारी दिए । ‘मधेश भवन’ मा प्रदेश सरकारका मन्त्री तथा सांसदहरुसँग भेटघाट गरी करिब एक घण्टापछि उनी रंगभूमि मैदान पुगेर रामजानकी विवाहोत्सवअन्तर्गत स्वयम्बरमा सहभागी हुने छन् ।

लगत्तै त्यही दिन भारत फर्कने कार्यक्रम तय भएको मन्त्री यादवले बताए । विवाह पञ्चमी महोत्सव भव्यतापूर्वक मनाउन प्रदेश २ सरकारले यसपटक ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ ।

विवाह पञ्चमी महोत्सव धुमधामका साथ मनाउन तयारीका लागि मञ्च व्यवस्थापन, मटकोर, जन्तीको स्वागत, विद्युत व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शौचालय एवं फोहोर, सरसफाई लगायतको कामका लागि सर्वपक्षीय बैठक बसेर छलफल गरी २४ वटा छुट्ट-छुट्टै समिति समेत गठन भएको महोत्सव मूल समारोह समितिका अध्यक्ष एवं सहमहन्त राम रोशन दासले जानकारी दिए ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्