कोशी टप्पु क्षेत्रमा ठूलो आयाम : अर्नाको राजधानी, चराको स्वर्ग पर्यटक प्रर्वद्धन र विकासको सूचीमा
इनरुवा : सुनसरीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षलाई नेपाल सरकारले मुलुककै प्रमुख पर्यटक प्रर्वद्धन र विकासको सूचिमा समावेश गरेको छ । सुनसरी क्षेत्र नं ४ का सासंद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार पर्यटक प्रर्वद्धन र विकासका लागि पहिचान गरिएको गन्तव्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचीमा समावेश गरिएकाले यस क्षेत्रको विकासमा ठूलो आयाम थपिएको बताए ।
स्थानिय वर्णमाला दैनिकसँगको कुराकानीमा कार्कीले प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तब्यमा सूचीकृत भएकोले अब कोशी टप्पु विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरी अधिकसे अधिक पर्यटक भित्र्याउने हिसावले अघि बढ्ने विश्वास ब्यक्त गरे । आरक्षमा रहेका प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायतमा स्थानीयवासीहरुको सहभागितामा पर्यटन प्रवद्र्धन र यस क्षेत्रको संरक्षण कार्यमा सरोकारवालाहरुबाट आवश्यक पूर्वाधारको योजना संचालन गरी धेरै लाभ लिन र रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएकाले आफुले गन्तव्य सूचीमा परेसँगै व्यवश्थापन कार्यका लागि सहयोग जुटाउन थालेको सासंद कार्कीले बताए ।
कोशीटप्पु पर्यटनका लागि सप्तकोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । वि.स. २०३२ सालमा स्थापना भएको वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । रामसार सूचिमा सूचिकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४४१ प्रजातीका चराहरू, ४१९ को संख्यामा दुर्लभ अर्ना र १२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाईन्छ । गर्मीको मौसम फाल्गुणदेखि जेठसम्ममा तीव्रता न्युनतम वर्षा सँगसँगै तिब्र गर्मी हुन्छ । प्राकृतिक संरक्षण क्षेत्रमा अर्नासँगै हरिण, नीलगाई, मगर, गंगा र अन्य भन्दा धेरै जातिका चराचुरीहरूको बसोबास स्थल रहेको छ ।
कोशीको टप्पु कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ । सिसौ, खयर र सिमलका रूख र पोथ्रा–पोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले क्षेत्रबाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ । गत बर्ष सरकारले यहाँबाट १३ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज सारेको छ । अर्ना यहाँ मात्र पाईने र टाढा टाढाबाट चराहरु आउने भएकाले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ ।
अर्ना र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ । यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक अर्कै हुन्छ । पर्यटकहरुले कोशी नदीमा बोटिङको मजा लिन सक्नेछन् । कोशीको बीचमा रहेको श्रीलंकालगायतका साना साना टापुहरुमा जान सकिन्छ । टापुमा वालुवाको थुप्रो छ, त्यहाँ पर्यटकहरु रमाउनेछन् ।