राजकीय ठाँटमा क्रिष्चियन परम्परा अनुसार शनिबार प्रियंका चोपडा र निकको विवाह हुँदै
बलिउड तथा हलिउड अभित्रेनी प्रियंका चोपडा र हलिउड अभिनेता तथा अमेरिकी संगीतकर्मी निक जोनसको विवाह राजकीय शैलीमा हुने भएको छ । विवाह समारोह दुई दिन हुने छ । प्रियंका र निक परिवारसहित विवाहका लागि जोधपुरमा रहेको उम्मेद भवन पुगेका छन् । अम्बानी परिवारका सदस्यसहितका पाहुनाहरु पनि विवाहमा सहभागी हुन त्यहाँ पुगेका छन् । प्रियंका र निकले भारतको सबैभन्दा सम्पन्न राजदरबारमा विवाह गर्न लागेका हुन् ।
डिसेम्बर १ अर्थात शनिबार क्रिष्चियन परम्परा अनुसार विवाह हुँदैछ । निकको परिवार क्रिष्चियन भएकाले यो परम्परा अनुसार विवाह हुन लागेको हो । यस्तै डिसेम्बर २ अर्थात आइतबार हिन्दु परम्परा अनुसार विवाह हुनेछ । प्रियंकाको परिवार हिन्दु हो र त्यहि परम्परा अनुसार विवाह हुनेछ । ३६ वर्षकी प्रियंका र २६ वर्षका निकले केही महिनाअघि इनगेजमेन्ट गरेका थिए । उनीहरुबिच एक वर्षअघि ओस्कारको आफ्टर पार्टीमा भेट भएको हो ।
प्रियंका र निक आफ्नो परिवारका सदस्यसहित बिहीबार नै जोधपुरको उम्मेद भवन पुगेका छन् । उम्मेद भवन जोधपुर राजपरिवारको घर हो । यो भवन विश्वको छैटौँ ठूलो व्यक्तिगत आवस भवन रहेको बताइन्छ । भवनको केही भाग ताज हेरिटेज होटलमा परिणत गरिएको छ । यो भवनको २६ हेक्टर जमिनमा फैलिएको बगैँचामा मयूर नाचेको देख्न सकिन्छ ।
होटलको ग्र्याण्ड प्रेसिडेन्सियल सुटमा एक रात बिताउनका लागि पाँच लाख भारतीय रुपैयाँ तिर्नु पर्छ । विवाह समारोहमा हलिउड अभिनेता डवेन जोन्सन, लुपिता न्याङ्गो र टक शो होस्ट केली रिपासहितका स्टार सहभगी हुने जनाइएको छ । विवाहमा निकले राजकीय पोशाक पहिरिने छन् । उनी घोडा चढेर मण्डपसम्म पुग्ने छन् ।