Logo
१२ मंसिर २०८१, बुधबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रयोगमै नआई भूत बङ्गलामा परिणत पर्यटन भवन

भोजपुर : भोजपुर नगरपालिका-१२ टक्सारमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई जीर्ण बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरहेको छ । अहिले यो भवन भूत बङ्गलामा परिणत भएको स्थानीयको भनाइ छ ।

कलात्मकरूपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने तथा जुवा तास खेल्ने स्थल बनेको छ । भवनमा लगाइएको झ्याल ढोका निकै कलात्मक तवरबाट निर्माण गरिएका छन् । भवन करीब रु ५० लाख लागतमा निर्माण गरिएको हो ।

शुरुमा केहीमात्रामा घेराबारा गरिएको भए पनि हाल यसको अवस्था बेहाल छ । भवनमा लगाइएका सम्पूर्ण ताला फोरिएको छ भने निर्माण भएको शौचालय, स्नानकक्ष, विद्युत्को वायरिङलगायत सम्पूर्ण सामग्री तोडफोड गरिएको छ । लाखौँको लगानीमा निर्माण गरिएको भवनको संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

स्थानीय सुजन उदासले भन्नुभयो, “राज्यको लाखौँ लगानीमा बनेको भवन संरक्षणविहीन छ, प्रयोगमा नआई भवन जीर्ण बन्यो, यति ठूलो लगानीमा निर्माण गरिएको भवन अहिले जुवातास खेल्ने स्थान बनेको छ ।”

करीब छ वर्षअघि तत्कालीन पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चलका १६ जिल्लाको एउटै मात्र पर्यटन प्रवद्र्धनका रूपमा यो भवन निर्माण गरिएको हो । पर्यटन मन्त्रालयअन्तर्गत रु ७२ लाखको बोलपत्र आह्वान भएकामा रु ५० लाख लागतमा ठेक्का पारी कृष्ण श्रेष्ठले सो भवनको काम गर्नुभएको हो ।

त्यसयता प्रयोगमा नै नआई भवनको मर्मतका लागि रु ५ लाख खर्च भइसकेको निर्माण व्यवसायी धीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । भवनको मर्मत उहाँले गर्नुभएको हो । अहिले बाक्लो झाडीले ढाकेको जीर्ण भवन कुनै प्रयोजनमा नआएपछि भवनका काठपात, फर्निचर तथा फलामजन्य सामान कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

लाखौँको भवन भत्कने अवस्थामा पुग्दासमेत यसतर्फ सरोकारवाला निकायको ध्यान गएको देखिँदैन । केहीमात्रामा रेखदेख तथा सुरक्षा गर्न सके पनि राज्यको सम्पत्ति जोगिने देखिन्छ तर अहिले सो भवनमा एउटा ताला लगाउनसमेत ध्यान पुगेको छैन । केन्द्र, प्रदेश तथा स्थानीय तह कसको जिम्मामा रहने टुङ्गो नलाग्दा भवन संरक्षणमा समस्या भएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्