Logo
४ माघ २०८१, शुक्रबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली बालुवाटार छोडे, ४ देशका विशिष्ट व्यक्तिहरु आज नेपाल आउँदै

काठमाण्डौ : एसिया प्यासिफिक समिटका लागि आएका विदेशी पाहुनालाई भेट्नका लागि प्रधानमन्त्री केपी ओली तीन दिन वालुवाटार छोड्ने भएका छन् । विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विशिष्ट व्यक्तिहरुसँगको भेटघाटका लागि ओली होटल सोल्टीमा बसेका छन् ।

विवादित कार्यक्रमका लागि आएका पाहुनालाई सरकारी निवास वालुवाटार बोलाएर भेट्दा थप आलोचना हुने डरले प्रधानमन्त्रीलाई होटल सोल्टीमै राखेर भेटघाट गराउन लागिएको अनुमान गरिएको छ । त्यसो त आउने–जाने समयको बचत गर्नका ओली बिहीबारबाटै सोल्टीमा बसेको बताईको छ ।

सम्मेलनमा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार आएका छन् । उनीहरूलाई होटल सोल्टीमा राखिएको छ ।

न्युजिल्यान्डको पूर्वउपनिवेश समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति, पालाओ आइल्यान्डका राष्ट्र प्रमुख, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा शुक्रबार आउँदै छन् ।

उनीहरू सबैलाई सोल्टीमै राखेर शुक्रबार साँझ प्रधानमन्त्री ओलीले रात्रिभोज दिँदै छन् । हुन सेन सम्मेलनपछि लुम्बिनी जाँदैछन् भने सुकीको लुम्बिनी भ्रमण टुंगो नलागेको यूपीएफले जनाएको छ । राष्ट्रपति भण्डारी र एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीबीच शीतलनिवासमा शुक्रबार बिहान भेटवार्ता भएको हो ।

सम्मेलनमा सहभागि हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु आउने क्रम जारी छ । दक्षिण कोरियामा रहेको अन्तर्रा्ष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

विभिन्न देशका सरकार प्रमुखसहित यति धेरै प्रतिनिधि बोलाएर हुन लागेको यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको ठूलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजकको दावी छ ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्