Logo
३ मंसिर २०८१, सोमबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै पहिलो पटक सरकारी कामकाजमा लिम्बू भाषाको प्रयोग

मङ्गलबारे : नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिए ।

वडामा कामकाजी भाषाका रूपमा ‘लिम्बू भाषा’ को कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भएको वडाध्यक्ष राईले बताए ।

वडामा दोभासे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजङ्घा लिपि’ को आधार क्षेत्र भएकाले माङ्सेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताए ।

गत १५ कात्तिकमा वडामा बसेको विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र सङ्घसंस्थाको संयुक्त बैठकले नेपालमै पहिलोपटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । यहाँ ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास रहेको छ ।

हालसम्म वडा र गाउँपालिकामा कोही पनि बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । स्थानीय भाषा कामकाजी भाषाका रूपमा प्रयोग हुन थालेपछि गाउँपालिकासँग दोभासे कर्मचारी नियुक्त गर्न माग गरिने वडाध्यक्ष राईले बताए । तत्काल लिम्बू भाषा जान्ने स्थानीय पाँच स्वयंसेवकबाट सहयोग लिइने उनको भनाइ छ । त्यसका लागि स्वयंसेवक समितिसमेत गठन गरिएको छ ।

समितिले गाउँपालिकाबाट दोभासे कर्मचारी नियुक्त नभएसम्म स्वयंसेवकका रूपमा दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र केशेहाङ्मा थेगिमले काम गर्नेछन् ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्