Logo
४ माघ २०८१, शुक्रबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको संयोजकबाट हटाइए लगत्तै महन्थ ठाकुर आज राति दिल्ली जाँदै

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पूर्व संयोजक महन्थ ठाकुर आज राति ८ बजे (बुधवार) भारतको नयाँ दिल्ली जाँदैछन् । ठाकुरको भ्रमणबारे राजपामा औपचारिक जानकारी गराइएको छैन । राजपाको सोमबार नै बैठक बसेर सरकारलाई दिइएको समर्थन फिर्ता लिने कार्यसूची थियो । तर सोमबार बैठक बस्न सकेन ।

उनका निकटतमहरुका अनुसार उपचार क्रममा उनी भारत जान लागेका हुन् । ठाकुर हरेक ६ महिनामा भारतमा फलो अपका लागि जाने गरेका छन् ।  सोमबार बस्ने भनिएको बैठक बस्न नसकेपछि राजपाको बैठक अनिश्चित छ । महामन्त्री केशव झाले भन्नुभयो, ‘ठाकुर भारत जानु भएपछि उहाँ फर्केपछि मात्रै बैठकको मिति तय हुनेछ र पहिलो बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ता हुने छ ।’

महन्थ ठाकुर भारत भ्रमणमा उपचारका लागि जाने भनिए पनि उनको राजनीतिक भेटघाट पनि हुने बताइएको छ । यद्यपि भेटघाटबारे केही बताइएको छैन । १८ महिना राजपा संयोजक रहेका ठाकुर संयोजकबाट हटेलगत्तै राजपाको बैठकसमेत बस्न सकेको छैन । ठाकुर निकटका केही नेता असन्तुष्ट छन् ।

राजपाको महाधिवेशन पनि हुन सकेको छैन । सरकारलाई दिइएको समर्थन फिर्ता लिने नलिनेमा पनि नेताहरुबीच फरक मत छ । यस्तो अवस्थामा ठाकुरको उपचार मात्र हुनेछैन, उनले भारतको राजनीतिक वृत्तका नेतासँग पनि परामर्श गर्ने प्रयासमा रहेका छन् । उनकै भेटबारे चाँजोबाँजो मिलाउन केहि दिन अघि राजपा नेतृ चन्दा चौधरी पनि दिल्ली पुगेकी थिइन् तर उनको प्रयास भने असफल भएको बताइएको छ ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्