Logo
५ माघ २०८१, शनिबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपामा तख्तापलट : जब आरोपको बर्षाबीच ठाकुरले माइन्युट फाले र विज्ञप्तिमा हस्ताक्षर गरे

कर्मचारी नहुँदा लेटर प्याडमा अर्को कागज टाँसेर निकालियो बिज्ञप्ती तर अनिल झा बने बागी

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) मा भएको तख्तापलटले मंगलबार सबैको ध्यान खिच्यो । तर देशकै तेस्रो नम्बरका राष्ट्रिय पार्टी राजपा अहिले यस्तो हविगत छ कि एउटा पनि कर्मचारी छैनन् । जसकारण मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकमा नेताहरूले न चिया खान पाए न पानी नै ।

बिड्म्बना पनि यतिसम्म देखियोकी लेटरप्याडमा अर्को कागज टाँसेर बैठकको निर्णयलाई सार्वजनिक गर्नु पार्‍यो । अन्यत्रैबाट प्रीण्ट गरेर ल्याईएका सादा विज्ञप्तीको ड्राप्टलाई नै लेटर प्याडमा टाँसेर त्यसैमा तल संयोजक महन्थ ठाकुरले हस्ताक्षर गरे । भने अनिल झाले उक्त विज्ञप्तीमा सर्वसहमतीको ठाँउमा हातले बहुमतबाट निर्णय गरेको भनेर लेखे ।सच्चयाएर अर्को बिज्ञप्ती टाईप गर्ने र केर्मेट गरिएका बिज्ञप्ती ननिकाल्ने अवस्था मंगलबार थिएन । किनकि कम्प्युटरबाट प्रीण्टबारे ज्ञान् त्यहाँ उपस्थित कुनै नेतालाई थिएन भने झण्डै एक महिनादेखि राजपा कार्यालय कर्मचारी बिहिन छ ।

संयोजक ठाकुरनिकट कर्मचारीहरु राजपा कार्यालय छाडेर तात्कालिन तपलोपाको कार्यालयमा ओहोरदोहोर गर्दैछन् भने अन्य कर्मचारीहरु आ-आफ्ना अन्य काममा लागेका छन् । मंगलबारको अध्यक्षमण्डलको बैठक अन्य दिन जस्तो थिएन । अन्य दिन आफूलाई सिंह ठान्ने संयोजक ठाकुर उक्त बैठकमा भने बिरालोको रूपमा थिए ।

“यो तपाईंको प्राली हो ? कि तमलोपा ? तपाईंको मनपर्दी नै स्विकार्नलाई हामीले राजपा बनाएका थियौं ? तपाईं नेता राजपाको अनि काम तमलोपाको गर्ने ? ठाकुर जी तपाईं जति जोगीको रूप देखाउनुहुन्छ त्यति नै भोगी हुनुहुन्छ हामी के तपाईंका दास हौं तपाईं महाराज ? जे हुन्छ आजै हुन्छ अब अत्ती भयो” शरत्तसिंह भण्डारीले आरोपमाथि आरोप बर्साई रहँदा महेन्द्रराय यादव र राजकिशोर यादवले बिच-बिचमा हो मा हो मिलाउदै थिए । राजेन्द्र महतो मौनझै थिए भने अनिल झा ठाकुरको बचाउ गर्दै थिए ।

मंगलबार निर्धारित समयभन्दा एक घन्टा ढिलोगरी सुरु भएको राजपा अध्यक्ष मण्डलको बैठकमा विधानअनुरूप चक्रीय प्रणालीमा पार्टी नेतृत्व गर्नुपर्ने प्रस्ताव आएपछि संयोजक महन्थ ठाकुरले कुनै प्रतीरोध गरेनन् । उनले आफूलाई हारेको स्वीकार गर्दै “तपाईंहरुको निर्णय बिपरित म जान सक्दिनँ” भन्दै प्रस्ताव र निर्णय गर्न नेताहरूलाई आग्रह गरे ।

उनको अनुहारमा न आश्चर्य थियो न बोलीमा असहजता । मानौं उनी सुरुदेखि नै बैठकमा अध्यक्ष मण्डलका अर्को सदस्यलाई संयोजक बनाउने प्रस्ताव आउने र त्यो स्वीकार गर्ने कुरामा तम्तयार थिए ।

उक्त प्रस्तावलाई रोक्ने प्रयत्न उनलेे गरेनन् बरु अध्यक्ष मण्डलका अर्को सदस्य अनिलकुमार झाले त्यसमा बिरोध जनाए । उनले पार्टी महाधिवेशनसम्म ठाकुरकै नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्ने तर्क गरे ।

तर, दृढतापूर्वक प्रस्तावको पक्षमा अपूर्व एक्यबद्धता देखाएका अध्यक्ष मण्डलका अन्य चार सदस्यसामु उनको केही चलेनन् । उनले अन्त्यमा बैठक स्थगित गरी फेरि पनि सोचविचार गरेर अर्को बैठकमा नेतृत्वबारे निर्णय गर्न बैठकमा सुझाए । तर, यो उपायप्रति पनि अन्य सदस्य सहमत भएनन् ।

र, पहिल्यै नै ड्राफ्ट गरिएको प्रस्ताव र निर्णय माइन्युट किताबमा लेखियो । र, तात्कालिन ६ वटा मधेसकेन्द्रित दल एकीकृत भई ठाकुरलाई संयोजक मान्दै अघि बढ्ने संकल्प धुजाधुजा भयो । झाको जोडदार असहमतिका बीच बिधान अनुसार नै सामूहिक नेतृत्वको अभ्यास गर्ने भन्दै राजपामा तख्तापलट भयो । “बिधानमा चकृय नेतृत्वको ब्यवस्था हुँदाहुँदै पनि हामिले तपाईंलाई सर्वमान्य नेता ठान्यौं तर तपाईंको रवैया सर्वमान्य नेता जस्तो रहेन” अध्यक्ष मण्डलका एक सदस्यले भने-“तपाईं सायद बिर्सनु भयो कि यो तमलोपा होईन राजपा हो ।”

पार्टीको मौजुदा नेतृत्व विस्थापन गर्ने रणनीति भने केही दिनअघि नै तयार भइसकेको थियो । गत कात्तिक १३ गते महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलामा राजपा संयोजक ठाकुर र अध्यक्ष मण्डल सदस्य अनिलकुमार झाबाहेकका चार सदस्यको बैठकमा ठाकुरको बहिर्गमन र महतोको रथारोहणको योजना बनेको थियो ।

त्यस दिन साँझबाट सुरु भएको बैठक अबेर रातिसम्म बसेको थियो । जसमा ठाकुरको आत्मकेन्द्रित र तत्कालीन तमलोपासम्बद्ध नेताकार्यकर्तालाई प्रोत्साहित गर्ने कार्यशैलीका बारेमा लेखाजोखा भएको थियो ।

ठाकुरको कामकाजबाट पार्टी संगठन सुस्त भएको र आफ्ना समर्थक नेताकार्यकर्ता निरुत्साहित बनेको तथा यसकारण आसन्न पार्टी महाधिवेशनमा तत्कालीन तमलोपासम्बद्धहरूकै हालीमुहाली रहने आकलन गरेका अध्यक्ष मण्डलका सदस्य महतो, महेन्द्रप्रसाद यादव, शरत्सिँह भण्डारी र राजकिशोर यादव ठाकुरलाई नै नेतृत्वबाट उछिट्टयाउने निचोडमा पुगे ।

यता अध्यक्ष मण्डलका अन्य सदस्यसमेतलाई चिढ्याउने गरी ठाकुरलाई ‘अनर्गल र जबर्जस्ती’ गर्न केही निकटस्थ नेताहरूले उक्साइरहे ।

महाधिवेशनपूर्व सदस्यता वितरण अभियान सुरु गरिएको र सदस्यता रसिद अब पदाधिकारविहीन बनेका पार्टी महासचिव विनोद सिँहमार्फत जिल्लाहरूमा तत्कालीन तमलोपाका अध्यक्ष रहेका नेताकहाँ पठाइएको घटनाबाट अध्यक्ष मण्डलका अन्य सदस्यहरू निकै आक्रोशित भएका थिए ।

उनीहरूले राजपाको वर्तमान जिल्ला संयोजकलाई दिइनुपर्ने सदस्यता रसिद आफूनिकट व्यक्तिलाई दिएर ठाकुरले महाधिवेशनको ‘गेमप्लान’ आफूअनुकूल बनाउन खोजेको ठहर गरेका थिए ।

यो ठम्याइ नै कुनै बेला मधेस राजनीतिमा शुत्रुतापूर्ण प्रतिस्पर्धामा रहेका महेन्द्र र राजेन्द्रबीच सहमतिको बिन्दु बन्न पुग्यो । अध्यक्ष मण्डलका विद्रोही बहुसंख्यक सदस्यहरूका लागि अन्तिम धक्का भने ठाकुरको आगामी ७ गतेबाट हुने भनिएको मेची महाकाली भ्रमण साबित भयो ।

अध्यक्ष मण्डल सदस्यहरूसँग परामर्श नगरी ठाकुर झापादेखि कञ्चनपुर यात्रामा निस्कन लागेको उनीहरूको आरोप थियो । संयोजकले कसैसँग सल्लाह नगरी एकतर्फी पार्टी निर्णय गरिरहेको भन्दै अध्यक्ष मण्डलका ती सदस्यहरूले ठाकुरको यो भ्रमणलाई महाधिवेशन अभियानका रूपमा चिह्नित गरेका थिए ।

तत्कालीन तमलोपानिकट तीनजना विनोद सिँह, शशिकपुर मियाँ र पुरुषोत्तम झालाई महासचिवमा मनोनयन गर्नु र ब्याक डेटमा सप्तरीका सुरेन्द्र यादवलाई केन्द्रीय सदस्यमा नियुक्त गरिनुलाई ठाकुरको मनोमानीका रूपमा अन्य नेताहरूले लिएका थिए ।

झाबाहेक अध्यक्ष मण्डलका अन्य सदस्यहरू प्रदेश २ सरकार गठन भएकै बेलादेखि असन्तुष्ट रहँदै आएका थिए ।

एक मन्त्री(जितेन्द्र सोनल)सहित दुई राज्यमन्त्रीका रूपमा(सुरेश मण्डल र अभिराम शर्मा) तत्कालीन तमलोपामा आबद्ध नेतालाई नै नियुक्त गरिनु र राज्यमन्त्रीका रूपमा डिम्पल झाको नियुक्तिबाट आफूहरूलाई उपेक्षा गरेको बोध गरेका अध्यक्ष मण्डलका अन्य सदस्यका लागि प्रदेश २ को संसद्मा तत्कालीन तमलोपानिकट परमेश्वर साहलाई प्रमुख सचेतक बनाइनु र आफूनिकट पार्टी नेता डा.सुरेन्द्रकुमार झालाई नीति आयोगका सदस्यमा लग्ने ठाकुरको निर्णयबाट वज्रघात नै भयो ।

प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी सुझाव दिने सरकारी समितिका लागि तत्कालीन तमलोपाका नेता रामप्रवेश बैठाको सिफारिस पनि विद्रोहीहरूका लागि पाच्य थिएन । यसले पनि नेताहरूको क्षोभ बढाएको थियो ।

पार्टी कार्यालयबाट कर्मचारी हटाउने दसैंअघिको निर्णयमा धेरैको चित्त बुझेको थिएन । भनिन्छ, पार्टीभित्र अवश्यम्भावी तख्तापलट रोक्न प्रदेश २ का मन्त्री र पार्टी महामन्त्री जीतेन्द्र सोनल काठमाडौंमा आएर भरमग्दुर प्रयास गरे । तर उनको केही चलेन, उनले भारतीय दूतावासमा फोन गर्ने कार्यदेखी तात्कालिन तपलोपाका नेताहरूको बैठक गरि कुनैपनि हालतमा ठाकुरलाई नै संयोजक बनाइराख्नु पर्ने कार्यका लागि सकेसम्म पहल गरे ।

तर, होटल पावन मिथिलामा बनाइएको योजनाप्रति कठोर अध्यक्ष मण्डलका सदस्यहरू महतो, महेन्द्र भण्डारी र राजकिशोर डगेनन् ।

अन्ततः राजपाको २२ महिने यात्रामा महतोको नेतृत्वाभिषेक भयो । ठाकुरले आवेगमा माइन्युट फाले । तर विज्ञप्तिमा हस्ताक्षरतर भने गरे ।
त्यसपछि उनी तत्कालीन तमलोपाको बिजुलीबजारस्थित कार्यालय तिर लागे । त्यो त्यहीँ कार्यालय हो जहाँ बसेर उनी राजपा चलाउने गरेको आरोप अध्यक्ष मण्डलका अन्य सदस्यहरूले लगाउँदै आएका छन् । र तमलोपालाई ठाकुरले जीवित नै राखेको नेताहरुको आरोप छ ।

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्