Logo
१२ मंसिर २०८१, बुधबार
(November 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल : तीन अर्ब ७५ करोडमा चिनियाँ कम्पनीले स्तरोन्नति गर्ने

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग आज सोमबार निर्माण सम्झौता हुने भएको हो ।

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड रन्वे कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन ।

धावनमार्ग स्तरोन्नतिको काम पाँच महीनाभित्र शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले कम्पनीले आवश्यक तयारीका लागि चार महीना भए पुग्ने प्रस्ताव पेस गरे पनि आयोजनाले पाँच महीनाको समय दिएको बताए ।

क्यानका महानिर्देशक सञ्जिव गौतमका अनुसार आगामी अप्रिल १ बाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको रन्वेको कालोपत्र परिवर्तन गर्नु पर्नेछ । दैनिक ८० मिटरका दरले १० घण्टा मिलिङ मेशिनको साथमा राति रन्वे बनाइनेछ । यो क्रममा दैनिक १० घण्टा विमान स्थल बन्द हुनेछ ।

धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम सुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी रन्वेको कालोपत्र परिवर्तन शुरु गर्न लागेको क्यानले जनाएको छ । स्तरोन्नति गर्न करीब १८ महीना लाग्नेछ ।

 

प्रकाशित मिति: Nov 5, 2018

प्रतिक्रिया दिनुहोस्