उपराष्ट्रपतिले भने– तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति भयो
काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व तुलाधारको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत गर्नुभयो । “मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्ति प्रक्रियाको पहलकर्ता आदरणीय पद्मरत्नज्यूको निधनले म स्तब्ध भएको छु”, उपराष्ट्रपतिले परिवारजनसँग भन्नुभयो ।
उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै नेपालको परिवर्तनकारी आन्दोलन, विशेषगरी पञ्चायतविरुद्धको सङ्घर्ष, २०६२/६३ को जनआन्दोलन र नेपालको शान्ति प्रक्रियाका लागि उहाँले पु¥याउनु भएको योगदान सगरमाथा जस्तो उच्च रहेको बताउनुभयो ।
उपराष्ट्रपतिले पद्मरत्नको भौतिकरुपमा निधन भए पनि सधैँका लागि बाँचिरहने बताउनुभयो । “मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ ऊ अमर रहन्छ”, उहाँले भन्नुभयो ।