स्वदेशी लगानीको माथिल्लो तामाकोसीको लागत दोब्बर
काठमाडौं : स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसीको लागत दोब्बर पुग्ने भएको छ ।
स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको लागत बढेर दोब्बर पुग्ने भएको हो ।
सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने भनिएको यो आयोजनाको लागत बढेर करिब ६९ अर्ब पुग्ने देखिएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको निर्माण सम्पन्न हुने अवस्थासम्म ब्याजसमेत जोड्दा करिब ६९ अर्ब खर्च हुने अनुमान गरिएको बताए ।
लागत मात्र नभइ आयोजना निर्माण अवधिसमेत लम्बिएको श्रेष्ठले बताए । २०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको यो आयोजनाबाट २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य राखिएको थियो ।
यसैबीच, नेपाल विद्युत प्राधिकरणअन्तर्गत कम्पनी मोडलमा निर्माणाधीन ७ सय २६ दशमलब ३ मेगावाटका ५ आयोजनाका लागि स्वदेशबाटै करिब १ खर्ब रुपैयाँ जुट्ने भएको छ ।
प्राधिकरणले निर्माण गरिरहेका सबै आयोजनाको सेयरमा सर्वसाधारणबाट मात्रै सोझैं १८ अर्ब रुपैयाँ उठ्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
चिलिमे अन्तर्गतका ४ आयोजना र माथिल्लो तामाकोसी आयोजनाको लागि सर्वसाधारणबाट मात्रै १८ अर्ब उठ्ने घिसिङले बताए । ‘यीमध्ये केही सेयर वितरण भइसकेको छ र केही सेयर वितरण हुने अवस्थामा छ,’ उनले भने, ‘सबै सेयर यही वर्ष जारी हुँदैछ ।’ ‘तामाकोसीका लागि १० अर्ब सर्वसाधारणबाट सोझैं उठैछ,’ उनले भने, ‘चिलिमेको प्रवद्र्धनमा बनेका आयोजनाका लागि ८ अर्ब उठ्छ ।’