मुलुकमा विदेशी लगानी घट्यो, चालू खाता साढे ३५ अर्ब घाटामा
काठमाडौं : मुलुकमा विदेशी लगानी घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार विदेशबाट आउने सहयोग र लगानी पछिल्लो समय घटेको हो ।
पछिल्लो भदौसम्ममा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १ अर्ब २३ करोड रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १० करोड रहेको थियो ।
त्यस्तै, व्यापार र सेवा आय घाटा उच्च भएसँगै चालू खाता घाटा उच्चदरमा बढेको छ । आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा ३५ अर्ब ५६ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड रहेको थियो । अघिल्लो वर्षको पहिलो महिनामा ५ अर्ब ८७ करोडले घाटामा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा २५ अर्ब ४५ करोडले घाटामा रहेको छ ।