Logo
५ माघ २०८१, शनिबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अवतरण’को विमोचन गर्दै प्रधानमन्त्रीले भने : ‘म जादु देखाउन खोजेको होइन’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मका परिवर्तन नेपाली जनताले संघर्षबाट प्राप्त गरेको र अब विकास तथा सृमद्धि पनि नेपाली जनता आफैँले ल्याउने बताएका छन्। उनले अबको देशकव मुख्य लक्ष्य विकास र सुशासन रहेको पनि दाबी गरेका छन्। लेखक तथा पत्रकार शुभशङ्कर कँडेलले लेखेको ‘अवतरण’को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले तत्काल नै परिवर्तन सम्भव नभएपनि बिस्तारै त्यसको अनुभूति गराउने बताए।

उनले भने, ‘समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो परिणाम निकाल्नुपर्छ। लडाईं र लडाईंको अन्त्य पनि हामीले गरेको हो, समाज परिवर्तन पनि गरेकै हो, अब विकास पनि हामी नै गर्छौं।‘ प्रधानमन्त्री ओलीले अब देश नयाँ युगमा प्रवेश गरिसकेकाले कुनै पनि किसिमको निरंकुशतन्त्र नआउने बताए। उनले निरंकुश राजतन्त्र फर्केर नआउने बताए।

उनले नेपाली जनताले सचेततापूर्वक राजतन्त्रको अन्त्य गरेर लोकतन्त्र ल्याएको र यसको विकल्पमा कुनैपनि निरंकुश तन्त्र नआउने भएकाले अब त्यस्तो आशंका नगर्न आग्रह गरे। ओलीले जनतामाझ गरेका बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका थिए। जनताले दिएको मतको पूर्णरूपमा सम्मान गर्ने उनको भनाइ थियो।

उनले सरकार सञ्चालनका क्रममा तथा संघीयता कार्यान्वयनका क्रममा देखा परेका समस्या समाधान गर्न आफू लाग्ने बताए। पछिल्ला सात महीनामा सरकारले महत्वपूर्ण काम गरेको बताउँदै ओलीले नयाँ अभ्यास भएकाले कतिपय अवस्थामा समस्या आएको बताए। उनले संघीयता कार्यान्वयनका क्रममा भएका गल्ती हटाउने र नयाँ प्रयोग गर्नुपर्ने भएपछि त्यो पनि गर्ने बताए।

उनले सरकारका सात महिनाका बीचमा मौलिक हक कार्यान्वयनका कानून निर्माण भएको, विभिन्न संशोधनका काम भएका छन् र सातै प्रदेशमा नयाँ कार्यालय स्थापना गर्नुपर्ने काम भएका छन्, भन्दै उनले असहज अवस्थाबाट अहिले अर्थतन्त्र तङ्ग्रिन थालेको बताए। प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका काम पूरा गर्न बाँकी रहेको बताए।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु त्रुटि थियो : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई पहिलो संविधानसभा निर्वाचनपछि राष्ट्रपति नबनाएर आफूले त्रुटि गरेको बताए।  उनले भने, ‘सबैले सुन्नेगरी भन्दछु, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न।’ गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउँदा त्रुटि भयो ।’ उनले तिनलाई नेपाली मौलिकताका आधारमा पूरा गर्ने पनि बताए। उनले मानवताविरुद्धको अपराधका दोषीलाई उन्मुक्ति नहुने बताए। उनले सरकारले भ्रष्टाचार नसहने पनि बताए।

उनले नेपालको गृहयुद्धलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा कोइलालाको व्यक्तित्व र आँटले महत्वपूर्ण भूमिका खेलेको र उक्त भूमिकालाई कसैले पनि बिर्सन नसक्ने बताए। उनले भने, ‘गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो।’ उनले जानाजान नभएपनि उक्त गल्ती भएको बताए।

उनले कम्युनिष्टसँगको एकता र शान्ति प्रक्रियाका बेला क्यान्टोनमेन्टमा सेना पठाउने निर्णय ठीक समयको ठीक निर्णय भएको बताए। उनले माओवादी सेना रहेका क्यान्टोन्मेन्टमा सेना नपठाएको भए दोस्रो दिन नै हतियार चलेर सयौंको मृत्यु हुने र स्थिति नियन्त्रणबाहिर जाने देखेपछि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाई भनेर तत्काल सेना पठाउन आग्रह गरेको खुलासा गरे।

उनले पार्टी विभाजन र शान्ति पक्रिया निष्कर्षमा त्यहिँ निर्णयले पुर्‍याएको बताए। प्रचण्डले माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन दरबार हत्याकाण्ड र तत्कालिन राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूमाथि गरेको दमनले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले त्यस कार्यले सात राजनीतिक दल र माओवादीलाई सम्झौतामा आउन र आन्दोलनमा जान प्रेरित गरेको बताए।

अध्यक्ष प्रचण्डले माओवादीभित्रको विचार सङ्घर्ष, राजनीति सङ्घर्ष र अहिलेको पार्टी एकताको विषयमा कँडेलको पुस्तकले सूचनामूलक रूपमा समेटेको बताए। कार्यक्रममा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शान्ति प्रक्रियाको केही भाग टुङ्ग्याउन अझै बाँकी रहेको उल्लेख गरेका थिए।

अहिले हामी कतै चुकिरहेका त छैनौँ भन्ने आभाष भइरहेको भन्दै कोइरालाले दुई तिहाइको सरकारलेसमेत सुशासन दिन नसकेको भन्दै असन्तुष्टी जाहेर गरे। उनले कर्मचारीलेभन्दा पहिले मन्त्री र राजनीतिकर्मीले भ्रष्टाचार गर्दिन भनेर शपथ खान आग्रह गरेका थिए।

पुस्तकका बारेमा प्राध्यापक कृष्ण खनाल र परराष्ट्रविद् रमेशनाथ पाण्डेले कँडेलको पुस्तकले नेपाली राजनीतिमा र ओली र प्रचण्डका बारेमा सार्वजनिक नभएका धेरै कुरा बाहिर ल्याएको बताए। उनीहरूले नेपालको द्वन्द्व, रुपान्तरण र एकतालाई पुस्तकमा राम्रोसँग उल्लेख गरेको बताए।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्