Logo
५ माघ २०८१, शनिबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघमा ३२ वर्षे उमेर हद : तर पौडेल, सिटौला, सिंहलगायत ७ नेताको नोटअफ डिसेन्ट

काठमाडौं : नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो । तर, यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवा इतरको रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत ७ नेताले नोटअफ डिसेन्ट लेखेका छन् ।

नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ७ जनाले नोटअफ डिसेन्ट लेखेका छन् । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा ३२ वर्ष कटेका नेताहरु उम्मेदवार नै हुन नपाउने भएका छन् ।

एक नेताका अनुसार राति ११ बजे सकिएको बैठकको निर्णयहरु माइन्युट गर्दा झण्डै १२ बजेको थियो । त्यसबेलासम्मै बसेर शीर्ष नेताहरुले नै निर्णयमा नोट अफ डिसेन्ट लेखेका हुन् । नेविसंघको विधानबारे निर्णय गर्दा प्रक्रिया पुरा नभएको उनीहरुको दाबी छ । ११ औं महाधिवेशनबाट स्वीकृत विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने उल्लेख थियो ।

तर, महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा ३२ वर्षे उमेर हद हटाउन पार्टीलाई आग्रह गर्‍याे । यसको पछाडि उनीहरुको तर्क थियो, नियमित अधिवेशन हुने भएपछि ३२ वर्षे लागू गरौं । अहिले पार्टीको संस्थापन समूहले आफ्नो स्वार्थअनुकुल उमेर हद ल्यायो । तर, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता ३२ वर्ष उमेर हदको अडानमा रहे ।

रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताहरुले विधान सम्मेलनको माग गरे तर, ३२ वर्षे उमेर हद कायम राख्ने निर्णय कांग्रेसले नै गर्‍याे । ११ औं महाधिवेशनबाट नै प्रवन्ध भइसकेको वैधानिक व्यवस्थालाई हटाउनु उपयुक्त नहुने नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए । नेविसंघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद मंसिर २ मा सकिँदैछ । त्यसैले दशैं-तिहारको बीचमा भएपनि महाधिवेशन गर्नुपर्ने दबाव छ ।

युवाबाट प्रौढ उमेरमा प्रवेश गर्दा पनि विद्यार्थी नेता हुनेहरु नेविसंघमा थुप्रै छन् । वर्तमान अध्यक्ष महर स्वयम् ४० कटिसकेका छन् । त्यसैले ३२ वर्षे उमेर हद नेविसंघको दीर्घकालीन हितका लागि उपयुक्त मात्र होइन, अनिवार्य भइसकेको देउवा, पौडेल, सिटौला सबै समूहका नेताहरु स्वीकार गर्दछन् । त्यसो भए पौडेल र सिटौला समूहको गलफत्ति किन त ? नेविसंघंमा अहिले देखिएको ३२ वर्षे उमेर हदको समर्थन र विरोध आसन्न महाधिवेशनलाई हेरेर भएको छ ।

नेविसंघको अध्यक्षका लागि थुप्रै नेता आकांक्षी छन् । प्रमुख दावेदारका रुपमा कुन्दनराज काफ्ले देखिएका छन् । हाल महामन्त्री रहेका उनी कृष्ण सिटौलासँग निकट हुन् र चुनाव भएको अवस्थामा उनकै पल्ला भारी हुने नेताहरु बताउँछन् । तर, ३२ वर्षे उमेर हद लागू भएपछि कुन्दन नेविसंघको नेतृत्व दौडबाट बाहिरिएका छन् । नेताहरुका अनुसार ३२ वर्षे उमेर हदमा सिटौला समूहले चर्को विरोध गर्नुका मुख्य कारण यही हो ।

रामचन्द्र पौडेल समूहको अवस्था पनि यो भन्दा फरक छैन । भावी अध्यक्षका रुपमा अघि सार्न खोजिएका नेताहरु ३२ वर्ष कटेका छन् । उसो त शेरबहादुर देउवा समूहका सरोज थापाहरुलाई पनि ३२ वर्षे उमेर हदले रोक्छ । तर, यो पटक देउवा समूहले प्रेमराज जोशीलाई नेविसंघको अध्यक्ष बनाउन चाहेको छ । सहमहामन्त्री प्रकाशशरण महत निकट उनलाई ३२ वर्ष उमेर हदले छैक्दैन ।

नेविसंघमा ३२ वर्षे उमेर हद लागू भएपछि प्रेमराज जोशीलाई निकै सहज भएको मानिएको छ । तर, रामचन्द्र पौडेल–कृष्ण सिटौला समूह मिल्यो भने उनीहरुले सोचे जस्तो सहज पनि हुने छैन । किनभने सिटौला समूहको बलमा नैनसिंह अध्यक्ष भएका थिए । यो पटक सिटौला समूह पौडेल समूहसँग मोर्चाबन्दी गर्ने रणनीतिमा छ ।

सिटौैला समूहले यदि ३२ वर्षे लागू भइहाल्यो र अधिवेशन हुने भयो भने कसलाई अघि सार्ने भन्ने समेत तय गरेको छ । स्रोतका अनुसार हाल आदिवासी जनजाति विद्यार्थी संघको अध्यक्ष रहेका दुजाङ शेर्पालाई सिटौला समूहले अघि सार्ने तयारीमा छ । पौडेल समूहमा भने व्यक्ति टुंगिएको छैन । तर, पुष्पकुमार शाही लगायत आकांक्षी देखिएका छन् ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्