यसरी मेसिनको सहायतामा नेपालमै फलाइन्छ ‘एकमुखे’ रुद्राक्ष
समाजमा ‘एकमुखे’, ‘दुई मुखे’ लगायतका रुद्राक्षको निकै महत्व रहको पाइन्छ । तर अहिलेको आधुनिक जवानामा सजिलैसँग जति ‘मुखे’ को आवश्यक्ता छ सजिलैसँग त्यो नेपालमै फलाउने गरिएको छ । यो तस्विर संखुवासभा स्थित चैनपुर नगरपालिका ११ लुहाकोटको हो जस्मा क्लिप लगाइएका रुद्राक्षका काँचा दाना देख्न सकिन्छ ।
यो क्लिप भने कति मुखे रुद्राक्षको आवश्यक्ता छ त्यस्को लागि लगाइएको हो । चाहेको खण्डमा एक मुखे वा पाँच मुखे जुनै पनि मुखे रुद्राक्ष सजिलैसँग फल्ने गरिएको छ । त्यसो त निकै फलदायी मानिने रुद्राक्ष खेतीमा अब राजस्व पनि तिर्नु पर्ने भएको छ ।
पूर्वीपहाडी जिल्लाहरूमा उत्पादन हुने रुद्राक्ष खरिद-बिक्रीबाट संकलन हुने राजस्वमा कमी आएको छ । चालु आर्थिक वर्ष हालसम्म ३२ जनाले मात्र जिल्ला समन्वय समिति संखुवासभाबाट खरिद-बिक्री परिचयपत्र लिएका छन् । गत आवमा ५५ जनाले परिचयपत्र लिएका थिए । यस आवमा रुद्राक्षको कारोबार भएको दुई महिना बितिसक्दा एक लाख ५९ हजार रुपैयाँमात्र राजस्व संकलन भएको छ । आव ०७३/७४ मा एक सय २४ जनाले खरिद-बिक्री परिचयपत्र लिएका भए पनि पछिल्ला वर्ष यो संख्या क्रमशः घटिरहेको छ । ०७३/७४ मा खरिद-बिक्रीबापत ६ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
अन्तर्राष्ट्रियस्तरसम्म व्यापार गर्न पाउने गरी ‘क’ वर्गको परिचयपत्र समन्वय समितिले दिने गरेको छ । परिचयपत्र लिनेले समन्वय समितिमा अग्रिम १२ हजार रुपैयाँ राजस्व बुझाउनुपर्ने प्रावधान छ । यस आवमा एक जनाले मात्र ‘क’ वर्गको परिचयपत्र लिएको पाइएको छ । सबैभन्दा बढी ‘ख’ वर्गको परिचयपत्र लिने १८ जना छन् । सो परिचयपत्र लिन सात हजार रुपैयाँ राजस्व जम्मा गर्नुपर्ने छ । ‘ख’ वर्गको परिचयपत्र लिनेले देशैभर रुद्राक्ष खरिद-बिक्री गर्ने पाउनेछन् ।
त्यसैगरी सात जनाले सात हजारका दरले राजस्व बुझाई ‘ग’ वर्गको परिचयपत्र लिइएको पाइएको छ । ‘ख’ वर्गका रुद्राक्ष ६ व्यापारीले मात्र परिचयपत्र नवीकरण गरेका छन् । बजारमा अधिकांश पुरानै व्यापारी देखिए पनि पुराना ६ जनाले मात्र परिचयपत्र नवीकरण गरेको पाइएको छ। व्यापारीहरू बढे पनि व्यापारिक परिचयपत्र लिनेको संख्या भने घट्दो छ ।
परिचयपत्र लिएकाले मात्र रुद्राक्ष खरिद गर्न पाउने भए पनि सम्बन्धित पक्षबाट निगरानी हुन नसक्दा बिनापरिचयका व्यापारीको संख्या बढेको हो । ठूलो परिमाणमा व्यापार हुने रुद्राक्षको राजस्व संकलनको माध्यम परिचयत्र वितरणबापत दिइने शुल्क हो । यो नै नलिएपछि राजस्व घटेको हो । ठूला मुख भएका रुद्राक्षहरूको विशेष माग हुने गर्छ । यसको भारतीय बजारमा अधिक खपत हुन्छ । साना मुख गरेका चार, पाँच, छ र सातमुखे रुद्राक्ष थेप्चो, मदाने, चिल्लो, र ठूलो कण्ठे रुद्राक्ष भने चिनियाँ बजारमा बढी बिक्री हुने गर्छ ।
हिन्दू परम्पराअनुसार धार्मिक आस्थाको रूपमा प्रयोग हुने भएकाले रुद्राक्ष खरिद-बिक्री बढेको हो । केही वर्षयता भने चिनियाँ व्यापारीले सजावटका सामान, टाँकलगायत सामग्री बनाउन रुद्राक्ष खरिद गर्ने गरेका छन् । भोजपुरको दिङ्ला र खाँदबारी नेपालको रुद्राक्ष कारोबारको मुख्य स्थान हो । साउनदेखि चैत्र महिनासम्म रुद्राक्षको व्यापार हुने गर्छ ।
रोकिएन स्वरूप बिगार्ने क्रम
गत वर्षदेखि सुरु भएको रुद्राक्षमा क्लिप लगाएर प्रकृतिक स्वरूप नै बिगार्ने क्रम अझै रोकिएको छैन । चिनियाँ व्यापारीले नेपाली गोला, अण्डा र थेप्चो आकारमा उत्पादन हुने दानालाई क्लिप (मेसिन) को सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिन सुरु गरेका हुन् । चिनियाँ व्यापारीले गत वर्ष रुद्राक्षलाई क्लिपको सहयताले अप्राकृतिक रूपमा चेप्टाएका थिए ।
अप्राकृतिक बनाएर बजारमा पर्याएको भन्दै स्थानीय प्रशासनले रोक लगाएको थियो । सो कार्यमा रोक लगाइएपछि चिनियाँ व्यापारीले नेपालीहरूलाई क्लिप बिक्री गरेको पाइएको छ । यस वर्ष कृषक तथा स्थानीय व्यापारीहरूले नै क्लिप प्रयोग गरेको चैनपुर नगरपालिका-११ का वडाध्यक्ष धर्मराज चौहानले बताए ।