सियोन स्कुलकी सङ्गीताले जितिन् ‘बराह मिस प्लस २–२०१८’ को ताज
धरानः ‘बराह मिस प्लस २–२०१८’ को ताज सियोन स्कुलकी सङ्गीता श्रेष्ठले जितेकी छिन् । शनिबार राति बिग इभेन्ट नेपालद्वारा धरान–८ स्थित सभागृहमा आयोजित दोस्रो संस्करणको मिस प्लस २– २०१८ को ताज श्रेष्ठले जितेकी हुन् । २३ प्रतिस्पर्धीलाई जितेकी उनलाई मिस प्लस २– २०१७ की विजेता सिमरन तुलाधारले क्राउन लगाइदिइन् ।
श्रेष्ठले ‘कुजानु मिस भ्युअर्स च्वाइस’ र ‘मिस पर्सनालिटी’ अवार्ड पनि हात पारिन् । उपाधिसँगै श्रेष्ठले नगद ४५ हजार रुपैयाँसहित ज्योति लाइफ इन्स्योरेन्सबाट १५ लाख रुपैयाँबरारबरको ‘दुर्घटना बीमा’ प्राप्त गरिन् । प्रतियोगितामा एम्स एकेडेमीकी सोनु मगर फष्ट रनरअप बन्दा धरान आदर्शकी दीपिका गुरुङ सेकेण्ड रनरअप बनिन् । फष्ट रनरअप बनेकी मगरले ‘युनिक क्याम्पस मिस डायनेमिक’को टाइटल अवार्ड समेत हात पारिन् ।
उनीहरूले क्रमश नगद २५ हजार र १५ हजार रुपैयाँसहित ज्योति लाइफ इन्स्योरेन्सबाट १० लाख र ५ लाख रुपैयाँबराबरको दुर्घटना बीमा प्राप्त गरे । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष एवम् औजार दैनिकका प्रधानसम्पादक भीम ज्वाला राई र आयोजक संस्था बिग इभेन्ट नेपालका अध्यक्ष सन्तोष राईले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको अन्तिम ५ मा पर्न सफल धरान उच्च माविकी सविना अधिकारी र एम्स एकेडेमीकी रञ्जु लिम्बूले पनि विजेताहरूसँगै धरानको युनिक क्याम्पसमा ३ महिना निःशुल्क आयल्स गर्ने अवसर पाए । रेडियो धरानमा निःशुल्क आर्जे तालीम लिने अवसर पनि पाएको इभेन्टका प्रचार संयोजक विकास चाम्लिङले बताए ।
प्रतियोगितामा विभिन्न विधाका १२ वटा टाइटल अवार्ड समेत वितरण गरिएको चाम्लिङले बताए । टप गोर्खा मिस स्माइल, सियोन मिस ट्यालेन्ट, रेड कार्पेट मिस डिस्पिलिन, बुढासुब्बा डेन्टल मिस फ्रेण्डसिप, एनआइसी एसिया मिस ब्युटीफूल, सोताङ बेष्ट ड्रेसलगायतका १२ वटा टाइटल अवार्ड वितरण गरियो ।
मिस नेपाल २०१७ की विजेता निकिता चण्दकसहित ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्की, प्रदेश पोर्टल डट कमका प्रधान सम्पादक राजेश विद्रोही र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशक प्रा.डा पप्पु रिजाल प्रतियोगिताको निर्णायक रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी डिजे ललितले गरेका थिए ।
गत भदौ ५ गते धरानमा लिइएको अडिसनबाट प्रतियोगितामा धनकुटा, तेह्रथुम, मोरङ, सुनसरीलगायतका २४ जना प्रतियोगी बन्द प्रक्षिणको लागि छनोट भएका थिए । करिब १ महिनासम्म उनीहरूलाई उद्घोषण, पर्यटन, महिला हिंसालगायतका विषयमा प्रशिक्षण दिइएको थियो । हाइकिङमा पनि उनीहरूलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।
कक्षा ११ र १२ मा अध्ययनरत छात्राको क्षमता तथा व्यक्तित्व विकास गर्न प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।