भुटाहा पुगेर गृहमन्त्री थापा आफैले दिए खुर्शिद आलमका परिवार सरकारी राहत
काठमाडौं : सुनसरीको रामनगर भुटाहा स्थित मारिएका खुर्शिद आलम अन्सरीका परिवारलाई गृहमन्त्री रामबहादुर थापा आफैले राहत रकम उपलब्ध गराएका छन् । उनले मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भीर रहेको बताए ।
मुख्यमन्त्री शेरधन राई सहित प्रदेशका बिभिन्न मन्त्रीसमेत उपस्थित रहेका एक औपचारिक कार्यक्रमबीच गृहमन्त्री थापाले आलमका परिवारलाई शहिद घोषणा गरिएको निर्णय र राहत स्वरुप रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
सुनसरीको भुटाहामा घटनाको ११ औं दिनमा आयोजित श्रद्धान्जली सभामा बादलले मृतकका परिवारलाई १० लाख रुपैयाँको चेक पनि हस्तान्तरण गरे । सरकारले अन्सारीलाई शहिद घोषणा गरेको थियो ।
कार्यक्रमबाट फर्कनेबेला गृहमन्त्रीले अालमका छाेराछारिलाइ राम्ररी पढ्न आग्रह समेत गरे । ४ जनाको अज्ञात हतियारधारी एक समुहले हरिनगर गाँपालिका स्थित भुटाहा बजारमा गोली हानी आलमको हत्या गरेका थिए ।
घटनाको सम्बन्धमा छानबिन भइरहेको र चाँडै नै हत्यारालाई पक्रेर कानुनअनुसार कारवाही गर्ने गृहमन्त्रीले सो अवसरमा बताए । हत्या गरिएका खुर्शीदलाई सरकारले शहीद प्रमाणित गरेको पत्र पनि सो अवसरमा बादलले खुर्शीदको परिवारलाई प्रदान गरे ।
चलानी नम्बर ६६९ को सो पत्रमा मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयअनुसार शहीद घोषणा गरिएको उल्लेख छ । पत्रमा गृह मन्त्रालयका शाखा अधिकृत रामप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।