Logo
४ माघ २०८१, शुक्रबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुवै शक्तिशाली अध्यक्ष देशबाहिर भएका बेला माधव नेपालले बोलाए स्थायी समिति बैठक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै शक्तिशाली अध्यक्ष देशबाहिर भएका बेला वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति बैठक बोलाएका छन् । बिहीबार मात्रै संसदमा सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका नेपालले दुवै अध्यक्ष विदेशमा रहेको बेला बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबार दिउसो ३ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने गरी नेता नेपालले स्थायी समिति सदस्यलाई बोलाएका हुन् । भेलामा सरकारको काम कारबाही र पार्टी एकताका विषयमा छलफल हुने बताइएको छ ।  प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन न्युयोर्कमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि बैंककमा छन् ।

नेपाल निकट एक नेताका अनुसार भेलाबारे दुवै अध्यक्षलाई जानकारी गराइएको छैन । ती नेताले भने, ‘माधव नेपालले चिया खाऔं भनेर बोलाउन पनि कसैलाई सोध्नु पर्ला र ?’ नेकपामा ४५ जना स्थायी समिति सदस्य छन् ।

ओलीले राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै आफू तीन चौथाई बहुमतसहतिको प्रधानमन्त्री भएको बताइ रहँदा सरकारको कार्यशैलीको संसदबाटै आलोचना गरेर नेता नेपालले स्थायी समितिको बैठक राख्नुलाई नेकपाभित्र सरकारको कार्यशैलीप्रति फैलिएको विस्तृणको उत्कर्ष रुप उजागर गरेको छ ।

 

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्