पाँच सन्तानकी आमा पानोदेवी भन्छिन् – ‘मेरा पुत सबै कपुत भए’
जनकपुरधाम : ७० वर्षकी पानोदेवी गुप्ता विगत ३ वर्षदेखि जनकपुरको जानकी बृद्धाश्रममा बस्दै आएकी छिन् । दुई छोरा र तीन छोरी गरी ५ सन्तानकी आमा पानोदेवीलाई बुढेसकालमा कोहि सहारा नभएपछि विगत तीनवर्षदेखि जानकी बृद्धाश्रममा आश्रय लिएकी छन् । श्रीमानको दुईदशक अघि नै निधन भएपछि पानो झण्डै १२ वर्ष जानकी मन्दिरमा फुटपाथमा सृंगारको व्यपार गरेर जसोतसो गुजरा गरिन् । काम गरेर खान नसक्ने भएपछि छोराछोरी कसैले मतलब गरेनन् ।
त्यसपछि छिमेकहरुले आश्रममा ल्याएर राखिदिएको पानो बताउँछिन् । उनको जनकपुर र धनुषाको सबैला दुई ठाउँ घर छन् । आँखाभरि आँशु पार्दै पानो प्रश्न गर्छिन् ‘दुई छोरा, बुहारी र नातीनातिनाहरु घरमै बस्ने अनि म चाहिँ बृद्धाश्रममा किन ? छोराछोरी केवल आफ्नो स्वार्थ हेर्दारहेछन् ।
‘छोराछोरीले त आमाबुबालाई माया गर्छन्, वृद्धकालको शहारा हुन्छन् भन्ने सुनेको थिएँ । तर मैले गल्ती सुनेको छु जस्तो अभास बृद्धाआश्रम आएर भयो ।’ पानोदेवीले भनिन् ‘ मेरो सबै सन्तान विहेपछि केवल आफ्नो स्वार्थमा चुर्लुम्म डुबे । कपुत भए , त्यही भएर अहिले एक्लो जिन्दगी वृद्धाआश्रममा काटिरहेको छु ।’
पानोदेवीको समाजलाई प्रश्न छ ‘ छोराछोरीलाई आमाबुबाले जन्माउने, पाल्ने, हुर्काउने । तर वृद्धा अवस्थामा आमाबुबाको सहारा को हुने ?’ पाँच सन्तान हुँदाहुँदै आश्रममा बस्दा निकै पीडाबोध भइरहेको पानोदेवीको भनाई छ । ‘पाँच सन्तान हुँदाहुँदै वृद्धाआश्रममा बस्नुभन्दा गहिरो पीडा अरु के नै हुनसक्छ र ? आफ्नै सन्तानले हेला गरेपछि दोष कसलाई दिउँ ?’ पानोले भनन् ‘राम्रोसँग खान, बस्न पाएको छु । बिरामी हुदाँ औषधी उपचार पाएको छु । अव आश्रममै स्याहार गर्नेहरुलाई आफ्नो सन्तान ठानेको छु । ’
पानो मात्र होइन, धनुषा महेन्द्रनगरकी ७४ वर्षीया एकल महिला कमला देवी पनि विगत ७ वर्ष देखि बृद्धाश्रममा बस्दै आएकी छिन् । उनले भनिन् चाडपर्वमा आफन्तको याद बढि नै आउँदो रहेछ । तर, पनि आफन्तले नै याद नगरेपछि मन कठोर कुडिन्छ । कसैको आस लाग्दैन । कमला देवीले चार छोरी र एक छोरा गरी पाँच सन्तान जन्माईन् । छोरीहरु विवाह भइर आ-आफ्नो घर गइन् । श्रीमान र छोराहरुको मृत्यु पश्चताप आश्रममै बस्नु परेको उनी बताउँछिन् । उनलाई दमको रोग छ ।
उपचार गर्न जाँदा डाक्टरले भन्यो ठुलो अस्पताल जान्स् । तर ठुलो अस्पताल जाँन पैसा भए पो जानु । धेरै पैसा लाग्ने भएर आश्रमले पनि ध्यान नदिएको कमलाको गुनासो छ । आश्रममा रहेका १५ जना बृद्धाको बाहिरी मुहारमा खुशी देखिए पनि भित्री पीडा लुकेको प्रष्ट देखिन्छ ।