अञ्चलमय बन्दै प्रदेशहरु : प्रदेश ७ को नाम सुदूरपश्चिम राख्न सिफारिस
धनगढी : देश संघीयतामा गएपनि प्रदेशहरुको नाम भने धँमाधम अञ्चलीकरण हुन थालिएको छ । कर्णाली, गण्डकीपछि अब भने सुदूरपश्चिमको नाम सिफारिस भएको छ । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ ।
नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो । समितिले नाम सुदूरपश्चिम राख्ने भनी बहुमतले निर्णय गरेको हो ।
यसअघिको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरु नै हाल प्रदेश ७ मा रहेका छन् । यसैगरी, कैलालीको अत्तरिया क्षेत्र पर्ने गोदावरी नगरपालिका ४ लाई राजधानी तोक्ने सिफारिस पनि समितिले गरेको छ ।
प्रदेशसभा ७ ले प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले नेपाली सेनाको ब्यारेक पनि प्रदेश राजधानी गोदावरी नगरपालिका ४ तेघरी वरपर नै राख्न सिफारिस गरेको छ ।
प्रदेशसभाले समितिको प्रतिवेदन बुझे पनि मंगलबारको बैठकमा त्यस विषयमा थप छलफल र निर्णय भएको छैन ।