कांग्रेस महामन्त्री डा. शशांक भन्छन् -‘अबको सभापति कोइराला नै हो’
काठमाण्डौ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाटै सभापति हुने खुलासा गरेका छन् ।
कार्यकर्ताले नै कोइराला परिवारबाटै सभापति चाहेकाले आफूहरु त्यसको लागि तयार भएको बताए ।
रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’
देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा पाएको उनले सुनाए ।
कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने समेत बताए । कम्तिमा आउँदो ३० वर्षका लागि विधान बनाउने उनले प्रष्ट पारे । चार वर्ष पछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको विश्वास छ ।