Logo
४ माघ २०८१, शुक्रबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा सरकार चलिरहेको छ : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए । गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा मंगलबार शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै यो सरकारले काम गरिरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिका कुरा बढी तर काम कम गरिरहेको सिंहले बताए । जनतालाई राहत दिने काम सरकारले नगरेको भन्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘सुशासन र समृद्धिको कुरा उहाँले नारामा त धेरै गर्नुहुन्छ । तर जनताले त केही पाएका छैनन् । हिजो राति मात्रै दशैंको मुखमा इन्धनको मूल्य बढाइएको छ । जनतालाई केन्द्रविन्दुमा राखेर यो सरकारले काम गरेकै छैन ।’

स्वयम् प्रधानमन्त्री, सत्तारुढ दलका नेता तथा सांसदहरुका असन्तुष्टिले पनि यो सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा स्पष्ट हुने उनले बताए । सरकारको आलोचना गर्नेहरुविरुद्ध अरिंगाल बनेर जाइलाग्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रसंग जोड्दै नेता सिंहले भने, ‘हामीले त उहाँको केही टिप्पणीसमेत गर्न नहुने भइसक्यो । पत्रकारलाई हतकडी लगाएर लगिसकेको छ ।’

कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले गणेशमान सिंहले प्रजातान्त्रिक मूल्य मान्यताका लागि गरेको संघर्ष, त्याग र विचारलाई कांग्रेसले अनुसरण गरिरहेको पनि बताए । कार्यक्रममा पूर्वसभामुख दमनाथ ढुंगाना, राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, कांग्रेस नेताहरु नविन्द्रराज जोशी, राजेन्द्र केसी, वद्रि पाण्डे, कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतले गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्