फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,अब एक लिटर पेट्रोलको रु ११४ पर्ने, निगम अझै घाटामा
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो ।
मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।
यसअघि गत भदौ २० मा निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो ।मूल्य बढेपछि पनि इन्धनको व्यापारमा निगमले घाटा नै खानु परेको जनाएको छ । मूल्य नबढाइए पनि एलपी ग्याँसमा प्रतिसिलिण्डर ३०९।७९ रुपैयाँ घाटा रहेको गोइतले बताए । नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउने गरेको छ । भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५,१५ दिनमा मूल्य समायोजन गरिरहेको छ।