प्रधानमन्त्रीसँग भेटेर सरकारी गाडीमा ‘पन्त दाम्पती’ पुगे देउवा निवास बुढानिलकण्ठ
काठमाडौँ : बलात्कारपछि हत्या भएकी छोरीको न्यायका लागि काठमाण्डौमा सबैपक्षसँग गुहार लगाइरहेका पन्त दाम्पती सोमवार बालुवाटारबाट निस्केर सिधै कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् ।
न्यायका लागि भन्दै कांग्रेसका सभापति देउवासँग भेटघाट गर्न निर्मलाका बुवाआमा समेतको समुह बुढानिलकण्ठ स्थित देउवा निवास पुगेका हुन् । सोमवार बालुवाटारको सरकारी गाडी चढेर उनीहरु बुढानिलकण्ठ तर्फ लागेका थिए ।
यसअघि १३ वर्षकी स्वर्गिय निर्मला पन्तका बुवाआमाले सोमबार प्रधानमन्त्रीलाई भेटेका छन् । गएको साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवीसहितको टोली सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
निर्मलाका बुवाआमाले छोरीको न्यायका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री ओलीले ‘तपाईँहरुको पीडा मेरो पीडा हो’ भन्दै पीडितलाई न्याय र अपराधीलाई जसरी पनि कारवाहीको दायरामा ल्याउने बताए ।