Logo
४ माघ २०८१, शुक्रबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवस : असोज ३ गते कतै दिपावली, कतै ब्लाक आउट

काठमाण्डौ : असोज ३ गते संविधान दिवस मनाइदै छ । सरकारले औपचारिक रुपमा दिवस मनाउनका लागि समिति गठन गरेको छ ।
तर प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएको राजपाले भने यस दिनलाई कालो दिनको रुपमा मनाउने भएको छ । संविधान जारी भएको दिन ३ असोजमा मधेसवादी दल कालो दिवस मनाउने तयारीमा जुटेका छन् ।

संविधान संशोधनको माग गर्दै संघर्षरत राष्ट्रिय जनता पार्टी नेपाल कालो दिवसको तयारीमा जुटेको छ। राजपाका नेता अनिल झाले आफूहरुलाई भव्यताका साथ संविधान दिवस मनाउने चाहना भए पनि सरकारले त्यो वातावरण सृजना नगरेको गुनासो गरे । संविधान संशोधन गरेर सबै जनताको साझा संविधान नबनाएसम्म आफूहरुले संविधान स्विकार गर्न नसकिने उनको तर्क छ । झाले संविधानले क्षतविक्षत संघीयता कार्यान्वयन गरेकाले संशोधन गर्नुको विकल्प नभएको बताए ।

फोरम नेपाल तराई मधेस प्रदेश कमिटीले ३ असोजलाई कालो दिवसका रूपमा मनाउने कार्यक्रम शनिबार सार्वजनिक गरिसकेको छ । यसअघि नै राजपा नेपालले विरोधका विभिन्न कार्यक्रम घोषणा गर्दै पार्टीका शीर्ष नेता एवं प्रदेश २ का मन्त्री परिचालन गरिसकेको छ ।फोरम नेपाल तराई मधेस कमिटीका अध्यक्ष रेणु यादवले ३ असोजलाई कालो दिवसकै रूपमा मनाउने र सो कार्यक्रममा सहभागी हुन निर्वा्चित जनप्रतिनिधिलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएकी छन् । प्रदेश २ मा फोरम नेपालकै उपाध्यक्षसमेत रहेका लालबाबु राउत मुख्यमन्त्री छन् ।

पार्टीको निर्देशन अब उनले पनि मान्नुपर्ने भएको छ । प्रदेश २ बाहेकका प्रदेशका साथै संघीय सरकारले संविधान दिवस मनाउने भव्य तयारी गर्दै गर्दा त्यहाँ कालो दिवस मनाउने गरी तयारी थालिएको हो । संघीय सरकारमा फोरम नेपाल सहभागी छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका छन् । प्रदेश २ मा मुख्यमन्त्री फोरम नेता राउत छन् भने सत्तारुढ दल राजपा नेपालका मन्त्री कालो दिवसको तयारीमा जुटिसकेका छन् ।

फोरम नेपालले ३ असोजमा दिनभरि हातमा कालोपटी बाँध्ने, सार्वजनिक स्थानमा कालो झन्डा झुन्डयाउने निर्णय गरेको छ । फोरमले विरोधका कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ । ३ असोजमा कालो दिवस मनाउने निर्णय मधेसवादी दलले गरे पनि कार्यक्रम भने फरक रहेको छ । राजपा नेपालले ३ असोजमा सबै जिल्लामा दिउँसो विरोध प्रदर्शनका साथै विरोधसभा गर्ने, सोही दिन साझ ७ देखि सवा ७ बजेसम्म ब्ल्याक आउट (बत्ती निभाउने) लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।

यता, सोमवार बिहान फोरमको अर्को विज्ञप्ती आएको छ । मधेशमा कालोदिवस मनाउने चर्चा भइरहेको बेला फोरमका उपसचिव तथा कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ती जारी गर्दै फोरमले संविधान विरोधी कुनैपनि कार्यक्र नगर्ने प्रष्ट पारेको छ ।

सविधान संशोधन गर्ने सर्तमा सरकारमा सहभागी भएको फोरम नेपालले संविधान विरोधी कार्यक्रम गर्ने आधिकारीक कुनै पनि निर्णय नगरेको विज्ञप्तीमा उल्लेख छ । यद्यपी, केन्द्र सरकारलाई विश्वासको मत दिएको राजपा नेपालले देशैभरि त्यो दिन विरोधका कार्यक्रम गर्ने भएको छ । त्यसका लागि कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

फोरम नेपालको प्रदेशबाट जारी विज्ञप्ती :

फोरम नेपालको केन्द्रबाट जारी विज्ञप्ती :

राजपाको प्रेस विज्ञप्ती :

 

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्