जंगल फडानी तयारी : किन चाहियो हामीलाई ८००० हेक्टर क्षेत्रफलमा फैलिएको एयरपोर्ट
काठमाडौंको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले बढ्दो हवाई यातायात चाप धान्न छाडेको छ। आन्तरिक र बाह्य दुवै हवाइजहाज विमानस्थलमा अवतरण गर्न नपाएर लामो समय आकाशमा घुमिरहनुपर्ने बाध्यता दिनहुँ थपिँदो छ। त्यही भएर काठमाडौं विमानस्थलको विकल्पमा अर्को विमानस्थल निर्माण गर्न अत्यावश्यक भैसकेको सरकारको ठहर छ ।
पहाडमा ठूला एयरपोर्ट बनाउने जग्गाको अभाव र भौगोलिक कठिनाइ रहेकोले अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढको जंगल कटान गरी एयरपोर्ट बनाउने सरकारको त्यारी रहेको छ तर अहिले सरकारको अगाडी तीनवटा प्रश्न उब्जिएको छ पहिलो, कत्रो एयरपोर्ट बनाउने? दोस्रो, कति रूख काट्ने ? तेस्रो, एयरपोर्टसँगै जंगल मासेर नयाँ सहर विकास गर्ने कि नगर्ने?
निजगढ एयरपोर्ट निर्माण गर्ने निर्णयसँगै नेपाल सरकारले २०६४ सालमा कोरियाको निर्माण कम्पनी वर्ल्डवाइड ल्यान्डमार्कलाई विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) गर्ने जिम्मा दिएको थियो। उक्त कम्पनीले २०६८ सालमा आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाई सकेको छ । त्यो प्रतिवेदन अनुसार ८००० हेक्टर जग्गामा एयरपोर्ट निर्माण तथा नयाँ सहर निर्माणको लागी प्रस्ताव गरिएको छ । निर्माणाधीन आयोजनाको लागत, भौतिक पूर्वाधार र बजार मूल्यका आधारमा निजगढ एयरपोर्टको लागत १ खर्ब २१ अर्ब आकलन गरिएको छ ।
तर अर्को तीर विभागीय मन्त्री रविन्द्र अधिकारीले आफ्नो फेसबुक वालमा १८०० हेक्टरमा मात्र एयरपोर्ट निर्माण हुन्छ यसको लागि आइतबार वनमन्त्री शक्ति बस्नेतलाई भेटेर रूख काट्ने व्यवस्था चाँडै मिलाइदिन आग्रह पनि गरेका हुन । अब यहाँ ठुलो प्रश्न उठ्छ, के नेपाललाई ८००० हेक्टरमा फैलिएको एयरपोर्ट चाहिन्छ? जबकी संसारका मुख्य एयरपोर्टहरुको आकार एक चोटी हेरौं। लन्डनको हिथ्रो एयरपोर्ट संसारकै व्यस्तमध्ये पर्छ जहा दैनिक झन्डै १३ सय जहाज ओहर दोहर गर्छ ।
हिथ्रो संसारकै धेरै यात्रुको घुइँचो हुने एयरपोर्टमा पनि पर्छ। जसको क्षेत्रफल जम्मा १२२७ हेक्टर रहेको छ ,एसियाकै व्यस्त हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा वार्षिक चार लाख २० हजार जहाज आउजाउ गर्छ यो एयरपोर्टबाट ५० लाख टन कार्गो ओसारपसार गर्छ जसको क्षेत्रफल जम्मा १२५५ हेक्टर रहेको छ । हिथ्रो र हङकङ मात्र हैन, विशाल जनसंख्या भएको र यात्रुहरुको संख्या व्यापक रफ्तारमा बढिरहेको भारतको राजधानी नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्ट पनि जम्मा २०६६ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
त्यसो भए, हामीलाई किन चाहियो ८००० हेक्टर क्षेत्रफलमा फैलिएको एयरपोर्ट ?
यसको एउटा मात्रै ठुलो कारण छ की कहिले राजमार्ग विस्तारको नाउमा जंगल कटान गरी केहि खास समुदायलाई बसाई-सराई गराई वसोवास मिलाउने, कहिले विधुत विस्तारको नाउमा जंगल कटान गर्ने,कहिले सुकुम्बासीहरुलाई व्यावस्थापन गर्ने नाउमा जंगल कटान गर्ने, कहिले रेल्वे लाइन विस्तारको नाउमा जंगल कटान गर्ने त कहिले एयरपोर्ट निर्माणको नाउमा जंगल कटान गर्ने अहिले यहाँ एयरपोर्टको नाममा २४ लाख रुख विरुवा कटान गरी फेरी पनि यसै नाममा हिमाल र पहाडबाट बसाई-सराई गराई वसोवासको योजना सरकारले बनाएको अवस्था छ र तराई मधेसको भुमिलाई मरुभूमिमा परिणत गर्नेछ ।
अन्यथा सरकारको नियत ठिक भएको भए सर्लाहीको नयाँ रोड देखी बरहथवा सम्मको जंगल माओबादी द्वन्द्वको बेला कटान गरेको ५००० हेक्टर जग्गा आज पनि व्यक्तिहरुले भोगचलन गरि रहेको अवस्था छ । समयमा नै सर्लाहीको नागरिक समाज, विभिन्न पार्टीका नेता, सांसदहरूले ज्ञापनपत्र समेत दिइ सरकारको ध्यान आकृष्ट गराउदा गराउदै निजगढको बन बिनास गर्नुको कारण बुझ्न सकेन जबकी निजगढ र सर्लाहीको दुरी २० मिनेटको मात्रै छ । आज एकातिर पर्यावरण जोगाउन तथा मनुष्यलाई स्वच्छ वातावरणको लागी सरकारले अर्बौ रुपया खर्च गरी बोट बिरुवा लगाउन खर्च गरि रहेको अवस्था छ भन्ने अर्कोतीर सरकारबाट नै २४ लाख रुख कटान गर्ने कुराले शंका उत्पन्न गरि रहेको अवस्था छ ।
त्यसैले सरकारका सरोकारवाला मन्त्रीहरु समयमा सचेत हुन जरुरी देखिन्छ । अन्यथा गलत निर्णयले सरकारले सोचे जस्तो संबृध नेपाल र सुखी नेपालीको नारा मात्र नारामा सिमित हुनेछ ।
साह सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।