Logo
३ माघ २०८१, बिहीबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले ग-यो संसद बैठक अवरुद्ध,गृहमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौँ :  नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक अवरुद्ध गरेको हो ।

काङ्ग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेको हो ।

बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसद दिलेन्द्र बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी पन्तको हत्यारा र नगर अध्यक्ष पुनको हत्यारालाई कानुनको कठघरामा ल्याउन माग गर्दै के कारणले खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाइ पक्राउ गरिएको हो ? जवाफ दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले सरकारले ती विषयमा जवाफ नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने बताउनुभयो । यसपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठ्नुभएको थियो ।

यसपछि सभामुख कृष्णबहादुर महराले बैठकमा सांसद बडूले उठान गर्नुभएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले उपर्युक्त समयमा जवाफ दिनेछ, सरकारको जवाफ आउने छ ,सरकारको ती विषयमा जवाफ आउनेमा म विश्वस्त छु भन्नुभयो ।
सभामुख महराले प्रतिपक्षीदलका सांसदहरु आ–आफ्नो आसनबाट उठिरहनुभएकाले बैठक दश मिनेटका लागि स्थगित गर्नुभयो ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापाले केहीबेरमा संसदलाई सम्बोधन गर्नुहुनेभएको छ । प्रतिपक्षले कञ्चनपुर घटनाका विषयमा प्रश्न उठाएपछि गृहमन्त्रीले भोलि संसदमा जवाफ दिन लागेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्